राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र प्रभुको कर्जाको ब्याजदर सस्तियो, नविलको बढ्यो (सूचिसहित)



काठमाडौं । वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले २५ प्रतिशतले नाफा बढाएका छन् ।

बैंकहरुले कर्जामा लिने सक्ने न्यूनतम ब्याजदर अघिल्लो वर्षको तुलनामा यो वर्ष घटेको देखिएको छ । अहिलेसम्म २७ वटा वाणिज्य बैंकले आफ्नो विवरण प्रकाशित गरेका छन् । सिभिल बैंकको मात्र विवरण आउन बाँकी रहेको छ ।

२७ वटा बैंकहरुको गतवर्ष औसतमा १०.३६ प्रतिशत कर्जाको न्यूनतम आधार दर रहेको थियो । यो वर्ष त्यो घटेर ९.४९ प्रतिशतमा घटेको छ ।

वाणिज्य बैंकहरुमा सबैभन्दा ऋणको आधारमा पहिलो नम्बरमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशियाले असार मसान्तसम्ममा १ खर्ब ४७ करोड रुपैयाँ ऋण दिएको छ ।

एनआईसी एशिया बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको बेसरेट सबैभन्दा बढीले घटेको छ । एनआईसी एशिया बैंकको असार मसान्तसम्ममा बेसरेट ९.४८ प्रतिशत छ । अघिल्लो वर्षको असार मसान्तमा एनआईसी एशियाको बेसरेट ११.१६ प्रतिशत थियो ।

यसको अर्थ ऋणीले अघिल्लो वर्षभन्दा कम ब्याजदरमा ऋण पाउनुपर्ने हुन्छ । बैंकहरुले न्यूनतम बेसरेटमा कर्जाको शिर्षक र समय अनुुसार प्रिमियम थपेर ब्याजदर निर्धारण गर्छन् ।

२८ वटा बैंकहरुमा सबैभन्दा सस्तो कर्जाको आधार दर पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको छ । वाणिज्य बैंकले गतवर्षको तुलनामा बेसरेट अझै घटाएको छ । गतवर्ष वाणिज्य बैंकको बेसरेट ६.२० प्रतिशत थियो भने यो वर्ष ५.५० प्रतिशतमा झरेको छ ।

वाणिज्य बैंकको कर्जाको आधार दर अझै घटेको देखिन्छ । यसले ऋणको ब्याजदर अझै सस्तो हुन्छ ।

कर्जाको आधार दर कम हुने वाणिज्य बैंकमा तेस्रो नम्बरमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको कर्जाको आधार दर ७.०३ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यसमा केहीपनि परिवर्तन भएको छैन ।

यस्तै चौथोमा स्टाण्डर्ड चाटर्ड बैंक रहेको छ । चाटर्डको बेसरेट ७.६३ प्रतिशत छ । अघिल्लो वर्ष चाटर्डको बेसरेट ७.८७ प्रतिशत थियो ।

ऋणको आधारमा तेस्रो ठूलो बैंक नबिल बैंकको भने बेसरेट अघिल्लो वर्षको भन्दा बढेको छ । अघिल्लो वर्ष असार मसान्तमा ७.७८ प्रतिशत रहेको नबिलको बेसरेट यो वर्ष बढेर ८.०९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा बेसरेट बढे पनि नबिल बैंकको बेसरेट सस्तो हुने पाँचौं बैंकमा पर्छ ।

एभरेष्ट बैंकको पनि बेसरेट अघिल्लो वर्षको भन्दा घटेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि बेसरेट घटेको छ । बेसरेट घटेपनि इन्भेष्टमेन्टले स्प्रेड बढाएर ऋणीसँग चर्को ब्याजदर असूलेको छ ।

प्रभु बैंकको बेसरेट पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।

२७ वटा वाणिज्य बैंकमा बेसरेट बढ्ने बैंकमा नबिल बैंक मात्र रहेको छ । बेसरेट बढेपनि नबिल बैंकले स्प्रेड भने घटाएको छ । बैंकको स्प्रेड ४.४३ प्रतिशत रहेको छ ।


पुष्प दुलाल