अरुण-३ को २२ प्रतिशत काम सकियो, सीइओ भन्छन्- तोकिएको समयभित्र आयोजना बनाउँछौं



काठमाडौं । भारतिय सरकारको लगानीमा निर्माणाधिन अरुण- ३ जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आईतवार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई भेटेर उक्त जानकारी दिए ।

भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण– ३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले नयां सीइओलाई सफल कार्याकालको शुभकामना दिंदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजिकरण गर्न तयार रहेको बताए ।

‘सरकार र उर्जामन्त्रालयले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रवन्धको व्यवस्था पनि हामिले मिलाएका छौ । तपाईंहरुले समय सीमाभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामिलाई छ,’ मन्त्री पुनले भने ।

एसजेवीएनका नवनियुक्त सीइओ धिमानले अरुण- ३ जलविद्युत परियोजना समय सीमाभित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानीय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए ।

धिमानले टनेलको १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताए । भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको वारेमा चांसो राखेका थिए ।

जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतीको वारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह गरे ।

उनले नेपालमा पछिल्लो समय लगानीको लागी राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको लागी ईच्छुक रहेको जानकारी गराए ।

९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।

आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ ।


पुष्प दुलाल