विदेशी लगानी गर्छु भनेर आएका ५ दर्जन कम्पनी बेपत्ता, सम्पर्कमा आउन राष्ट्र बैंकको सूचना



काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउँछु भनेर आएका करिब ५ दर्जन कम्पनी बेपत्ता भएका छन् । यसरी कम्पनीहरु बेपत्ता भएपछि नेपाल राष्ट्र बैंकले सूचना नै जारी गरेर ३० दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन आह्वान गरेको छ ।

नेपालमा विदेशी लगानी भित्र्याउने, लेखाङ्गकन गर्ने तथा आर्जित मुनाफा लैजाने सम्बन्धी फाइल राष्ट्र बैंकमा दर्ता भएको तर आवश्ययक कागजातहरु पेश नभएको राष्ट्र बैंकले जनाएको छ ।

‘आवश्यक कागजात पेश गरेपछि मात्रै यस सम्बन्धी थप कारबाही अगाडि बढ्न सक्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट ३० दिनभित्र मागबमोजिमका कागजात पेश गर्नु हुन अनुरोध गर्दछु,’ विदेशी विनिमय व्यवस्थापन विभाकका कार्यकारी निर्देशक सरिता भट्ट अधिकारीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘तोकेको मितिभित्र कागजातहरु पेश हुन नआएमा पछि सम्पूर्ण कागजात पूरा गरी छुट्टै नयाँ निवेदन पेश गर्नुपर्ने कुरा अवगत गराइन्छ ।’

स्रोत खुल्ने कागजात नभएको, लगानीको स्रोत नभएको, सम्पर्क नभएको, खरिबिक्री सम्बन्धी एसपीए नभएको, लगानी भित्रिएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, कर्जा सूचना नयाँ लिनुपर्ने, प्रबन्धपत्र, लगानीकर्ताबीचको सम्बन्ध, सञ्चालकहरुबीच झगडा भएकाले प्रष्ट पार्ने कागजात नभएको, कम्पनीको नाम फरक परेको, विदेशी मुद्रा भित्रिएको प्रमाणपत्र लगायतका कागजात पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल