अर्बपति चौधरीको भिभान्ता होटेलले ४ तारेको मान्यता पाएन, यसकारण अयोग्य



काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुर झम्सिखेलस्थित भिभान्ता होटललाई चौधरी समूहले ४ तारे होटेलको रुपमा प्रचार–प्रसार गरिरहेको छ । तर, ४ तारेका लागि तोकिएको मापदण्ड पूरा गर्न नसक्दा पर्यटन विभागले भिवान्ता होटेललाई ४ तारे होटेलको मान्यता दिएको छैन ।

४ तारे होटलको मान्यता पाउनका लागि पर्यटन विभागमा पेश गरेको भिभान्ताले मापदण्ड पूरा नगरेकाले मान्यता नदिइएको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए ।

भिभान्ता काठमाडौं संचालनमा

‘भिभान्ताले ४ तारेका लागि निवेदन आएको थियो, तर होटल तय गरिएको मापदण्ड बमोजिम सञ्चालन भएको पाइएन, त्यसैले ४ तारे होटलको मान्यता दिन सकिएन,’ थापाले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार होटलमा गार्डेन, मापदण्ड अनुसारको कन्फरेन्स हल तथा पार्किङलगायतको सुविधा पर्याप्त नभएका कारण ४ तारेको मान्यता नदिइएको हो ।

अर्बपति विनोद चौधरीका छोरा राहुल चौधरी सञ्चालक रहेको उक्त होटेल गत माघ ३ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको थियो ।

भिभान्ता नाम भए पनि आर एण्ड आर नाममा काजगत पेश गरिएको होटलमा १ अर्ब ५ करोड रुपैयाँ लगानी भएको विभागमा पेश गरिएको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार होटलमा १८४ बेड संख्या छन् । २०७६ जेठ २० गते होटललाई पर्यटकस्तरीय सामान्य होटलको सूचीमा मात्रै समावेश गरिएको हो ।

भिभान्ता भारतीय होटल ताजको व्यवस्थापनमा सञ्चालित होटल हो ।

विभागका एक अधिकारीले भने, ‘४ तारे होटलको मापदण्ड पूरा नगरेपछि हामीले ३ तारे होटलका लागि केही समय दिएका थियौं तर उहाँहरुले लिन मान्नु भएन ।’

होटललाई अहिले पर्यटकस्तरीय सामान्य होटलको सूचीमा राखिएको छ ।

अर्बपति विनोद चौधरीका छोरा राहुल चौधरी सञ्चालक रहेको उक्त होटेल गत माघ ३ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको थियो ।

भिभान्ताले मान्यता नपाए पनि रविभवनस्थित होटल क्राउन इम्पेरियलले भने मान्यता पाएको छ । ६० करोड लगानी भएको उक्त होटलमा १३१ वटा कोठा छन् । होटलले गत असार १३ गते ४ तारे होटलको मान्यता पाएको थियो ।

विभागका अनुसार हाल ५ तारे होटलको संख्या १५ वटा छ । जसमध्ये गत असारमा मात्रै २ वटा होटलहरु थप भएका थिए । जसमध्ये नक्सालस्थित मेरियट होटलले गत असार २ गते र ठमेलस्थित छाँयादेवी कम्प्लेक्समा सञ्चालित होटल अलफ्टले असार १६ गते पाँच चारे होटलको मान्यता पाएका थिए ।

१५ वटा पाँच तारेमध्ये अहिले २ वटा सञ्चालनमा छैनन् । पोखरास्थित द फूलबारी रिसोर्ट र काठमाडौं नयाँबानेश्वरस्थित होटल एभरेष्ट अहिले सञ्चालनमा छैनन् ।

त्यस्तै, ४ तारे होटलको संख्या ११ वटा छन् । भने ३ तारे होटलको संख्या ३४, २ तारे होटलको संख्या ४३ र १ तारे होटलको संख्या ३४ छ ।


पुष्प दुलाल