वाग्मती करिडोरः ११ वर्षमा ११ किलोमिटर कालोपत्र, ८ अर्ब खर्च भए पनि काम भएन



काठमाडौ । काठमाडौं उपत्यकाको सवारी चाप नियन्त्रण तथा ट्राफिक जाम हटाउनका लागि महत्वपूर्ण मानिएको माग्मती करिाडेरको निर्माण सुरु भएको ११ वर्ष पूरा भयो । तर भौतिक प्रगतिको हिसाले हेर्ने हो भने असाध्यै न्यून देखिएको छ ।

निर्माणको जिम्मा लिएको कालिका कन्स्ट्रक्सनले तोके अनुसारको काम नगरेको भन्दै शहरी विकास मन्त्रालय समेत आजित भएको छ । तर कारवाही गर्ने र ठेक्का रद्द गर्ने भन्दा पनि म्याद थप गरेर २०८० सम्म पुरयाइएको छ ।

आयोजना सुरु भएको ११ वर्षसम्म पनि प्रभावकारी काम हुन नसक्नुको पछाडि स्थानीय समन्वयको अभाव तथा नदी किनारमा अव्यवस्थित रुपमा बसेका सुकुम्बासी तथा नदीको धार परिवर्तन लगायतका कारण प्रमुख रहेका छन् ।

वाग्मती नदीको बहाव परिवर्तन, अव्यवस्थित शहरीकरण, सुकुम्वासी बस्ती, स्थानीय निकाय तथा सरोकारवालाको समन्वयको अभावमा करिडोर करिब करिब अलपत्र जस्तै बनेको भएपनि तालुकदारनिकायले चासो लिएको छैन ।

नेपालीमा एउटा उखान छ, १२ वर्षमा त खोला पनि फर्कन्छ । तर वाग्मती करिडोरमा न त खोला फर्कने छाट छ न त काम नै हुने अवस्था रहेको छ । बरु कालिकाले काम नगरेपनि उसैको पक्षमा एकीकृत वाग्मती सभ्यता विकास समितिले निर्णय गरेर अराजकतालाई बल दिएको छ ।

निर्माण सुरु भएको लामो समय भइसक्दा पनि आयोजना कछुवाको गतिमा मात्रै अगाडि बढेको छ । हालसम्म आयोजनाका लागि भन्दै सरकारले ८ अर्ब बजेट खर्च गरिसकेको छ ।

आयोजना पूरा हुन अझै १० अर्ब बजेट लाग्ने देखिएको छ । यस आधारमा हेर्दा आयोजनाको कूल लागत मात्रै १५ अर्ब बराबर हुने देखिएको छ । तर जुन रुपमा काम हुनुपर्ने थियो, त्यो भने हुन सकेको छैन ।

निर्माण गर्न थालिएको एघार वर्ष बित्न लाग्दा पनि २५ किलोमिटर लामो वाग्मती करिडोर पूरा हुन सकेको छैन। करिडोर निर्माणको काम अझै पनि अन्योलमै छ ।

कूल २५ किलोमिटर लामो उक्त करिडोर निर्माण सम्पन्न गर्न सरकार, काठमाडौँ तथा लतिपुर महानगरका तर्फबाट जुन काम हुनुपर्ने थियो, त्यो समेत हुन सकेको छैन ।

स्थानीय तथा संघीय सरकारको सहकार्य गरिने भनिएपनि काम अगाडि बढ्न नसक्दा काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनमा समस्या पैदा भएको छ ।

सरकारले वाग्मती करिडोरको निर्माणका लागि एकीकृत वाग्मती सभ्यता विकास समिति मार्फत अगाडि बढाएको छ । गोकर्ण दोभानदेखि सुरु हुने उक्त करिडोर बल्खुसम्मको हो । कूल २५ किलोमिटर लामो उक्त करिडोर निर्माणका लागि पहल नभएको पनि होइन तर काम भने असाध्यै कमजोर देखिएको छ ।

शहरी विकास मन्त्रालय मातहतको एकीकृत वाग्मती सभ्यता विकास समितिले आयोजना ३ तहमा विभाजन गरेर निर्माण सुरु गरेको हो ।

आयोजनाको पहिलो चरणअन्तर्गत सुन्दरीजलदेखि गोकर्णसम्म ८ किलोमिटर, दोस्रो चरणमा गोकर्णदेखि पशुपतिसम्म ३ किलोमिटर र तेस्रो खण्डमा तिलगंगादेखि बल्खुसम्म १४ किलोमिटर गरी कुल २५ किलोमिटर लामो सडक निर्माण गर्ने योजना छ ।

हाल दुई चरणको काम अन्तिम चरणमा पुगेको भएपनि केही स्थानमा मात्रै कालोपत्र गरिएको छ । दुई चरणको काम सकिन लागेपनि तेस्रो खण्डमा भने कामले गति लिन सकेको छैन ।

सरकारले समिति मार्फत गराएको काममा कालोपत्र सडक निर्माण, पुल तथा करिडोर निर्माण तथा वाग्मती सौन्दर्यकरणको काम गर्ने लक्ष्य राखिएको छ । त्यसमा पनि नदीको दाँया बाँया नै सडक निर्माण गर्ने लक्ष्य राखिएको छ ।

वाग्मती करिडोरअन्तर्गत वाग्मती नदीको दायाँपट्टीको भाग सडक विभागले र बायाँपट्टीको भाग समितिले निर्माण गरिरहेको छ ।

विसं २०६५ मा सुरु भएको सो करिडोर २०७० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । थपिएको म्याद पनि गत वैशाखमा नै सकिएको छ ।

समितिका अनुसार कूल २५ किलोमिटर मध्ये गत वैशाखसम्म मात्रै ११ किलोमिटर सडक निर्माण भएको छ ।

निर्माण सम्पन्न भएको भनिएको गोकर्णदेखि गुह्येश्वरीसम्मको ४ किलोमिटर सडक पनि भत्किएको छ । गुणस्तरहिन निर्माण सामग्रीको प्रयोगका कारण सडक भत्किएको र सवारी साधन चलाउन कष्टकर बनेको छ । समितिले सो करिडोरको समयवधि थप गरेर २०८० सम्म पुुरयाएको जनाएको छ ।

वाग्मती नदीको बहाव परिवर्तन, अव्यवस्थित शहरीकरण, सुकुम्वासी बस्ती, स्थानीय निकाय तथा सरोकारवालाको समन्वयको अभावमा करिडोर करिब करिब अलपत्र जस्तै बनेको भएपनि तालुकदारनिकायले चासो लिएको छैन ।


पुष्प दुलाल