यी ५ ठूला बैंक, जसले टेरेनन् राष्ट्र बैंकको निर्देशन



काठमाडौं । सञ्चालनमा रहेका ५ वटा वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशनलाई अटेर गरेका छन् । ३ वटा सरकारी र २ वटा निजी लगानीका गरी ५ बैंकले राष्ट्र बैंकको निर्देशनलाई नटेरेका हुन् ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते मौद्रिक नीति अघि नै मर्जरको प्रतिवद्धता राष्ट्र बैंकसमक्ष बुझाउन निर्देशन दिएका थिए ।

गभर्नर डा. नेपालले डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई अघि राखेर बैंकका अध्यक्ष र सीइओलाई मर्जरको प्रतिवद्धता बुझाउ निर्देशन दिएका थिए ।

बैंकका अध्यक्ष र सीइओलाई गभर्नरको निर्देशनः मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता पेश गर्नू

गभर्नरले मौद्रिक नीति असार २७ गते आउने जानकारी गराउँदै त्यसअघि नै मर्जरको प्रतिवद्धता बुझाउन निर्देशन दिएका थिए । यद्यपि अहिलेसम्म राष्ट्र बैंकले मौद्रिक नीति सार्वजानि गरेको छैन । यसैहप्ता गर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

एभरेष्ट बैंकले राष्ट्र बैंकमा किन बुझाएन मर्जरको प्रतिवद्धता ?

‘अहिलेसम्म २३ वटा वाणिज्य बैंकले मात्रै राष्ट्र बैंकको निर्देशनअनुसार मर्जरको प्रतिवद्धता बुझाएका छन्,’ राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले क्लिकमाण्डूसँग भने, ‘राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नविल बैंक र एभरेष्ट बैंकले बुझाएका छैनन् ।’

गभर्नरको निर्देशन पछि सञ्चालनमा रहेका २३ वटा बैंकले निर्देशनको रेस्पोन्स गरेका छन् । तर, ५ बैंकले भने उक्त निर्देशनको कुनै रेस्पोन्स गरेका छैनन् ।

मर्जरमा जान किन मानेन नविल बैंक ? राष्ट्र बैंकमा प्रतिवद्धता बुझाएन

ग्लोबल आइएमइ र जनता बैंकले राष्ट्र बैंकको निर्देशनको पालना गर्दै आपसमा गाभिने समझदारी गरिसकेका छन् । प्राइम बैंक कैलाश विकास बैंक र कन्काइ विकास बैंक गाभ्ने प्रक्रियामा छ ।

बाँकी २० वटा बैंकमध्ये १६ वटा बैंकले मर्जर कमिटि गठन गरेर उपयुक्त जोडी खोजिरहेको भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । २ वटा बैंकले मर्जरमा जान तयार रहेको बताएपनि मर्जर कमिटि गठन गरेका छैनन् ।

यी १३ बैंकलाई मर्जरमा जान तीब्र दबाब, कुन कुन हुन् ती ? (सूचिसहित)

स्ट्यान्डर्ड चार्टर्ड बैंकले चाटर्ड ग्रुपको मर्जरमा जाने रणनीति नभएको जानकारी गराएको छ भने एनबी बैंकले आफ्नो विदेशी साझेदारसँग थप छलफल गर्नुपर्ने जानकारी दिएको छ ।

सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले भने राष्ट्र बैंकको निर्देशनको कुनै रेस्पोन्स गरेका छैनन् । यी बैंकले आफूहरु सरकारको निर्देशन कुरेर बसेको जवाफ दिन्छन् ।

बिग मर्जरः राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंक यस्तो तयारी गर्दैछन्

नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी सरकारले मर्जरमा जानका लागि अहिलेसम्म कुनै पनि निर्देशन नदिएकाले आफूहरु चुपचाप बसिरहेको बताउँछन् ।

‘सरकारले निर्देशन दियो भने मात्रै हामी मर्जरमा जान तयार हुन्छौं,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

‘हामी ३ वटै सरकारी बैंकका सीइओहरु बसेर आपसमा मर्ज हुने संभावना र चुनौतिका विषयमा छलफल पनि भइसकेको छ,’ राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरणकुमार श्रेष्ठले भने, ‘मौद्रिक नीतिसम्ममा सरकारको धारणा पनि आउला भनेर पर्खेर बसेका छौं ।’

सरकार र राष्ट्र बैंकले मर्जरमा जानका लागि आवश्यक निर्देशन दिएको खण्डमा सरकारी बैंकहरु पनि आपसमा मर्ज हुने उनको भनाई छ ।

‘बजेटले नै ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने नीतिगत सम्बोध गरिसकेको छ, तर सरकारी बैंक कतिवटा राख्ने र मर्जरमा लाने कि नलाने भनेर कहिँ कतैबाट नभनिएकाले हामीले निर्णय गर्न नसकेका हौं,’ उनले भने ।

राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम, कसलाई कति क्यापिटल चार्ज लगायो ? (सूचिसहित)

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायका अनुसार ३ वटै सरकारी बैंक मर्जरमा जान सकरात्मक रहेको मौखिक जवाफ राष्ट्र बैंकलाई पठाइसकिएको छ ।

‘सञ्चालक समितिको बैठकमा यो विषयमा सामान्य छलफल भएको छ, ठोस निर्णय मौद्रिक नीतिपछि आउला,’ उपाध्यायले भने, ‘सरकारी बैंकको सवालमा सरकारले कस्तो निर्देशन दिन्छ भनेर कुरेर बसेका छौं ।’

मर्जरमा जान बैंकर्स संघको दर्जन मागः बोर्डको संख्या बढाउ, सीइओको कुलिङ पिरियड हटाउ, अरु के के ?

निजी लगानीका नविल र एभरेष्टले पनि राष्ट्र बैंकमा मर्जरको प्रतिवद्धता बुझाएका छैनन् ।

‘नबिल बैंक मर्जरमा जादैन भन्ने होइन, उपयुक्त संस्था पाएमा मर्जरमा जानको लागि समस्या छैन, तर अहिलेसम्म कोहीसँग पनि कुराकानी भएको छैन, मौद्रिक नीति कसरी आउने छ, त्यसलाई हामीले कुरेर बसेका छौं,’ केहीदिन अघि सीइओ शाहले क्लिकमाण्डूसँग भनेका थिए, ‘‘नीतिले मर्जरको लागि कस्तो निर्देशन दिन्छ,त्यो आधारमा हामी अगाडि बढ्ने हो ।’

त्यस्तै, एभरेष्ट बैंकले विदेशी साझेदारसँग छलफल भइरहेको जानकारी दिएको छ । एभरेष्ट बैंकमा भारतको पञ्जाब नेशनल बैंकको २० प्रतिशत लगानी छ । पञ्जाब नेशनल बैंकले ठोस निर्णय नदिएको भन्दै एभरेष्ट बैंकले राष्ट्र बैंकसमक्ष मर्जरको प्रतिवद्धता नबुझाएको हो ।

मर्जरको सम्बन्धमा एभरेष्ट बैंकले यसअघि पनि पटक पटक राष्ट्र बैंकका अधिकारीहरुको निर्देशन अटेर गर्दै आएको थियो ।


पुष्प दुलाल