इनर्जी बैंकिङको अभ्यास शुरु, ५ सय मेगावाट बिजुली भारत पठाइयो



काठमाडौं । सरकारले इनर्जी बैंकिङको अभ्यास शुरु गरेको छ । पछिल्ला ३ दिनमा ५ सय मेगावाट बिजुली भारत पठाइएको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

‘पहिलो २ दिन १५०/१५० मेगावाट र गत राति २०० मेगावाट बिजुली भारत पठाउन सफल भएका छौं,’ उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमामन्त्री पुनले भने, ‘योसँगै भोलिका दिनमा नेपालमा उत्पादन भएको बिजुली भारतमा बेच्न सकिन्छ भन्ने कुरा प्राविधिकरुपमा प्रमाणित भएको छ ।’

लगातारको वर्षाका कारण बाढी पहिरो आएपछि नेपालमा बिजुलीको माग ह्वात्तै घटेको छ । तराईका धेरै क्षेत्र डुबानमा परेकाले विद्युत प्राधिकरणले बिजुली उपलब्ध गराउन सकेको छैन ।

सामान्यतया आजभोलि १२१५ मेगावाट बिजुलीको माग हुँदै आएको थियो । वर्षाका कारण उक्त माग घटेर ६५० मेगावाटमा झरेको छ । बिजुली बढी भएपछि भारतलाई बिक्री गरिएको हो ।

कुलेखानी जलविद्युत आयोजना २४सै घन्टा चलाएर त्यहाँबाटट उत्पादन भएको ९२ मेगावाट र भारतबाट आउने १५० मेगावाट बिजुली भारतलाई नै बेचिएको हो । भारतबाट आएको बिजुली नेपालको राष्ट्रिय प्रसारणलाईनमा जोडिने वित्तिकै फेरि त्यसलाई भारत नै पठाइएको हो ।

१३२ केभीए क्षमताको रक्सौल-परवानीपुर र कुशाहा-कटैया अन्तरदेशीय प्रसारण लाइन लगायतका देशभरका विभिन्न ७ वटा प्वाइन्टबाट बिजुली भारत पठाइएको मन्त्री पुनले जानकारी दिए ।

भारतसँग भएको विद्युत व्यापार सम्झौता (पीटीए) अनुसार नेपालमा भएको बिजुली भारतलाई बेच्नका लागि ट्रयल गरिएको उनले जानकारी दिए । भारत पठाइएको बिजुलीको पैसा भारतले नेपाललाई भुक्तानी गर्नेछ ।


पुष्प दुलाल