बाढी र वर्षाले विद्युत् माग ५० प्रतिशतले घट्यो



काठमाडौं । बाढी पहिरो तथा अविरल बर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका केही भौतिक संरचनामा क्षति पुगेको छ ।

क्षति पुगेका संरचनाको मर्मतमा प्राधिकरणले आफ्ना जनशक्ति परिचालन गरिसकेको जनाएको छ । विशेष गरी तराई मधेशका जिल्लामा रहेका प्रसारण प्रणाली तथा सवस्टेशनमा बाढी पसेको छ ।

विद्युत् माग समेत ह्वात्तै घटेको प्राधिकरणले जनाएको छ । रौतहटको सवस्टेशनमा सामान्य बाढी पसेको छ । यस्तै दुहवी ग्रीडमा समेत बाढीको पानी पसेको छ ।

१३२/३३ केभी क्षमताको उक्त सवस्टेशनमा पानी पसेकका कारण जलमग्न भएको छ । अविरल बर्षाका कारण सवस्टेशनमा पानी पसेको हो । सबस्टेशनमा पानी पसेपनि हालसम्म क्षति नपुगेको प्राधिकरणले जनाएको छ ।

पानी बढेको खण्डमा विद्युतीय जोखिम हटाउनका लागि सवस्टेशन नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।

प्राधिकरकणका प्रवक्ता प्रबल अधिकारीका अनुसार कूल १२०० मेगावाट विद्युत् माग भइरहेको अवस्थामा बाढी पहिरोका कारण माग ५० प्रतिशतले घटेर ६०० मेगावाटमा सिमित भएको छ ।

पछिल्ला २ दिनमा विद्युत् मागमा ठूलो अन्तर देखिएको हो । उनले सबै ग्रीड, सवस्स्टेशन तथा शाखा प्रमुखलाई आफ्नो क्षेत्रको अवस्थाको बारेमा जानकारी गराउन आग्रह गरेका छन् ।

फेसबुकमार्फत उनले सबै शाखा प्रमुख तथा ग्रीड प्रमुखहरुलाई पछिल्लो अवस्थाको बारेमा जानकारी गराउन तथा उपयुक्त उपाय अवलम्बन गर्न समेत आग्रह गरेका छन् ।

बाढी र वर्षाका कारण पोल ढल्ने, तार चुडिने तथा भुईमा लत्रने भएकाले त्यस्ता संरचना नछुन तथा सचेत हुन समेत आग्रह गरेको छ ।


पुष्प दुलाल