जनता गाभेपछि ग्लोबल बैंक देशकै नम्बर वान, यस्ता हुन्छन् वित्तीय सूचक



काठमाडौं । ग्लोबल आइएमई र जनता बैंकले बिग मर्जरमा जाने सहमतिमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बिग मर्जरमा जान दिएको निर्देशकको एकहप्तापछि मर्जरमा हस्ताक्षर गर्ने पहिलो बैंक ग्लोबल आइएमई र जनता बैंक बनेका छन् ।

ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने, दुबै बैंकका अध्यक्षले सहमतिमा हस्ताक्षर गरे

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई बैंक नै हुने छ । अध्यक्ष चन्द्र ढकाल हुने छन् भने सिइओ जनता बैंकका परशुराम क्षेत्री बन्ने सहमति भएको छ ।

चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा गएपछि देशकै ठूलो बैंक बन्ने छन् ।

अहिले ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यस्तै जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार

ग्लोबल आइएमई बैंकले ८५ रुपैयाँको स्वाप रेसियोमा जनता बैंकलाई मर्जर गर्ने भद्र सहमति भएको छ । बाँकी डीडीए गर्दा आउने परिणाम मान्न दुबै बैंक तयार छन् ।

यसरी दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड हुने छ । जुन नेपालका वाणिज्य बैंकमा नै सर्वाधिक बढी हो ।

यस्तै चैत मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । जनता बैंकको ७० अर्ब रुपैयाँ निक्षेप छ । यस हिसाबले दुबै बैंकको निक्षेप १ खर्ब ८७ अर्ब रुपैयाँ हुने छ । चैत मसान्तको तथ्यांक अनुसार सबैभन्दा बढी निक्षेप दुबैसंस्था गाभिएपछि हुने छ ।

यस्तै कर्जातर्फ चैत मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ दिएको छ भने जनता बैंकले ६४ अर्ब ७० करोड रुपैयाँ कर्जा दिएको छ । यसरी दुबै बैंक गाभिएपछि कर्जा १ खर्ब ६७ अर्ब रुपैयाँ हुन्छ । यसरी मर्जरपछि कर्जामा पनि ग्लोबल र जनता नै पहिलो नम्बरमा हुने छन् ।

नाफामा भने चैत मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले १ अर्ब ८७ करोड गरेको छ भने जनता बैंकले १ अर्ब २ करोड गरेको छ । दुवैलाई गाभ्दा नाफा २ अर्ब ८९ करोड हुन्छ । नाफाको आधारमा तेस्रो स्थानमा बैंक हुने छ ।

शाखा संजालको हिसाबले कुरा गर्दा ग्लोबल आइएमई बैंकको १३६ तथा जनता बैंकको १३७ रहेको छ ।

विभिन्न स्थानमा शाखा भने दोहरिएको छ । मर्जरपछि शाखा मिलान बैंकले गनुपर्ने हुन्छ । दुबैको शाखा २७३ हुने छ । शाखा संजालको हिसाबले दोस्रो ठूलो बैंक अहिलेको स्थितिमा हुन्छ ।

ग्लोबल आइएमई हाथवे फाइनान्सलाई एक्वाएर गर्ने प्रक्रियामा रहेको छ । जसले गर्दा एकीकृत कारोबार गर्दा पूँजी,रिजर्ब, निक्षेप तथा कर्जाको हिसाबले केही रकम बढ्छ । शाखा समेत बढी हुन्छ ।


क्लिकमान्डु