काठमाडौं महानगरपालिकाको बजेट आज प्रस्तुत हुँदै, साढे १५ अर्ब बराबरको सिलिङ



काठमाडौं । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेट आज (मंगलबार) ल्याउने भएको छ । महानगरपालिका स्रोतका अनुसार आगामी आर्थिक वर्षको लागि ल्याउन लागेको बजेट १५ अर्ब ५० करोडको हाराहारीमा हुने छ ।
महानगरले आगामी आवको बजेटमा सहरी योजनाका लागि बढी बजेट बनियोजन गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार आगामी आवको बजेटमा सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, वित्तीय व्यस्थापनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर लोकप्रिय बजेट ल्याउने तयारी भइरहेको छ ।
महानगरपालिकाले सुविधा सम्पन्न सडक व्यवस्थापन र ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, सडक बत्ती जडान, आधुनिक आकाशे पुल, बेलिब्रिज निर्माणलगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको छ ।

संघले महानगरपालिकालाई वित्तीय समानिकरण अन्तर्गत २ अर्ब ७४ करोड ८९ लाख, सशर्त अनुदान अन्तर्गत २ अर्ब ८५ करोड ६१ लाख गरी जम्मा ५ अर्ब ६० करोड ५० लाख रुपैयाँ बजेट दिएको छ ।

महानगरपालिकाले चालु आवको लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


क्लिकमान्डु