अर्थमन्त्रीले यी गाडीको भन्सार र अन्तशुल्क ५०%ले घटाइदिए, व्यवसायी वैद्य र ज्योति फाइदामा



काठमाडौं । गाडी किन्न सोचमा हुनुहुन्छ भने अर्थमन्त्रीले हाइब्रिड गाडीको मूल्य आर्थिक विधेयक मार्फत घटाइदिएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिष्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका गाडीमा लाग्ने भन्सार र अन्तशुल्क ५० प्रतिशतले कम गरिदिएका हुन् ।

बजेटमार्फत् अर्थमन्त्रीले घटाइदिए यी मोटरसाइकलको मूल्य

नेपालमा टोयटा र होण्डाले हाइब्रिड गाडी बेच्ने गर्छन् ।

गाडी बिक्रेताहरुको संस्था नाडाले ५० प्रतिशतसम्म भन्सार शुल्क हाइब्रिड गाडीमा घटाउन बजेट अगाडि सुझाव दिएको थियो ।

तर,अर्थमन्त्री डा खतिवडाले बजेटमा भन्सार ५० प्रतिशतसँगै अन्तशुल्कमा समेत ५० प्रतिशत कटौती गरिदिएका छन् ।

अहिले यस्ता खाले गाडीमा मूल्यमा ८० प्रतिशत भन्सार महशुल र ६० प्रतिशत अन्तशुल्क लाग्छ । अर्थमन्त्रीले ५० प्रतिशत भन्सार र अन्तशुल्क कटौती गरेपछि ४० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तशुल्क लाग्छ ।

टोयटाको प्रिसियस र होण्डाको इन्साइड मुख्य रुपमा नेपालमा बिक्री हुने हाइब्रिड गाडी हुन् ।

डिजेल र पेट्रोलबाट चलेपनि यस्ता गाडीले ९० प्रतिशतसम्म पेट्रोलियम पदार्थको खपत खर्च भने १० प्रतिशत त्यही ब्याट्रीबाट चल्छ । जसको चार्ज भने त्यही पेट्रोलियम पदार्थबाट नै गाडी चलेको समयमा हुन्छ ।

‘यो गाडीको मूल्य महंगो भएको हुँदा मध्यमवर्गले ठूलो लाभ भने पाउदैनन्,यद्यपी ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्कमा गरिएको कटौतीले केही शंका भने उत्पन्न गराएको छ,’एक गाडी बिक्रेताले भने ।

व्यवसायीहरुका अनुसार १० देखि १५ लाख रुपैयाँसम्म यस्तो खाले गाडीको मूल्य घट्न सक्छ । अहिले यी सबै गाडीको मूल्य १ करोडभन्दा माथि छ ।

व्यवसायी सौरव ज्योतिले भने पहिले देखि नै हाइब्रिड गाडीको भन्सार कम गर्नुपर्ने माग राख्दै आएका थिए । यद्यपी व्यवसायिक रुपमा भने गाडी बिक्री गर्दा सरकारको निर्णयले वैद्यलाई बढी फाइदा हुने छ ।

व्यवसायी सुरज वैद्यको कम्पनी युनाइटेड सिण्डिकेट टेर्डसले टोयटा गाडीको आधिकारिक बिक्रेता हो । वैद्य अहिले नेपाल भ्रमण वर्ष २०२० का संयोजक समेत हुन् । प्रधानमन्त्री केपी ओलीसँग अहिले अत्याधिक निकट व्यवसायीमा गनिन्छन् ।

त्यही निकटताको आधारमा उनी भ्रमण वर्षको संयोजक भएका चर्चा गरिन्छ । चीनको हुवासिन सिमेन्टको नेपाली साझेदार समेत त्यही निकटताको आधारमा बनेको चर्चा व्यवसायिक बृतमा छ ।


क्लिकमान्डु