बुढो कुकुरले नयाँ जुक्ति सिक्न सक्दैन्, व्यवसायमा पनि उर्जावान युवा आउनुपर्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नका लागि भारतीय व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

राजधानीमा बिहीबारदेखि सुरु भएको नेपाल भारत फ्रेञ्चाइज इन्भेष्टमेन्ट एक्सोमा बोल्दै खतिवडानले भने, ‘नेपालको पर्यटन क्षेत्रमा धेरै सम्भावना र अवसर छन्, हामीले केही समय अगाडि लगानी सम्मेलन पनि सम्पन्न गर्र्यौ पर्यटन क्षेत्रमा पनि निकै अवसर छ ।’

नेपालको ९५ प्रतिशत पर्यटन क्षेत्रले निजी क्षेत्रले धानेको भन्दै उनले त्यसमा सहकार्य गर्न आग्रह समेत गरे । साथै त्यसका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको समेत बताएका हुन् ।
नेपालमा स्टार्ट अप व्यवसाय सुरु गर्नका लागि धेरै अवसर रहेको भन्दै उनले युवाहरुलाई नेपालमा लगानी गर्नका लागि आग्रह समेत गरे ।

‘शिक्षाको गुणस्तर बढिरहेको छ । शिक्षालाई सीपसँग जोड्ने काम पनि भइरहेको भन्दै हस्पिटालिटी क्षेत्रमा निकै धेरै अवसर रहेको उनले सुझाव दिए ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि जनसंख्याका आधारमा ठूला मुलुक भारत र चीनबाट ५ मिलियन पर्यटक मात्रै ल्याउन सकिन्छ र त्यसका लागि आधार तयार पार्नुपर्ने बताए ।

नेपाली र भारतीय व्यवसायीहरु सहभागी कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको अवस्थामा लगानी गर्नु निकै उत्तम समय रहेको धारणा व्यक्त गरे ।

विभिन्न ठाउँमा भ्रमपूर्र्ण तरिकाले बौद्धिक सम्पत्ति चोरी भइरहेको सन्दर्भलाई जोडदै उनले भने, ‘कही कतै बौद्धिक सम्पत्ति अर्थात ब्राण्डलाई भ्रमपूर्ण तरिकाले प्रयोग भएको र त्यसलाई नियन्त्रण गर्न सरकारले ‘बौद्धिक सम्पत्ति अधिकार’ छिट्टै कार्यान्वयनमा ल्याउने गरी मस्यौदा तयार भइरहेको छ’ बताए ।

त्यसैगरी उनले व्यवसाय शुरु गर्न चाहनेका लागि बजेट अभाव हुन नदिन बैंक तथा वित्तीय संस्थामार्फत सहकार्य भइरहेको समेत प्रष्ट पारे ।

‘बुढो कुकुरले नयाँ जुक्ति सिक्न सक्दैन् भनेजस्तै व्यवसायमा पनि नयाँ र उर्जावान युवाहरु आउनुपर्छ’ उनले भने ।

नयाँ विजनेश ट्रिकसहित युवाहरु अरुलाई रोजगारी दिने गरी अघि बढ्न उनले सल्लाह दिए ।


पुष्प दुलाल