विधिवत रुपमै टुट्यो प्राइम र ओम डेभलपमेन्ट बैंक मर्जर, अब राष्ट्र बैंकले के कारबाही गर्छ ?



काठमाडौं । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक एक नहुने पक्का भएको छ । गत भदौ ३ गते भएको एक्विजिसन सम्बन्धी समझदारी आजदेखि विधिवतरुपमा तोडिएको हो ।

नियामक नेपाल राष्ट्र बैंकले बैशाख १३ अर्थात् आजसम्म मिलेर आउन निर्देशन दिएको थियो । तर, यी दुई बैंकबीच मिल्ने विषयमा कुनै छलफल नै भएन ।

एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं

‘हामीले बैशाख ८ गते दुबैं बैंकका आधिकारीक प्रतिनिधिलाई बोलाएर १३ गतेसम्ममा मिलेर आउन निर्देशन दिएका थियौं,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले क्लिकमाण्डूसँग भने, ‘उहाँहरु मिलेर आउनु भएन, अब डिमर्ज हुने पक्का भयो ।’

दुबै बैंकलाई अब राष्ट्र बैकले कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

‘आजको कानूनले राष्ट्र बैंकलाई फोर्स मर्ज गराउने अधिकार छैन,’ पौडेलले भने, ‘अब उनीहरुलाई कारबाही हुन्छ ।’

के कस्तो कारबाही हुन्छ भन्ने विषयमा अहिले नै भन्न नसकिने उनले जानकारी दिए ।

‘विनियमावलीअनुसार कारबाही हुन्छ, के कस्तो कारबाही गर्ने भन्ने अधिकार राष्ट्र बैंकको बोर्डसँग हुने भएकाले अहिले नै के कारबाही हुन्छ भन्न सकिन्न,’ उनले भने, ‘कारबाही चाहीँ अवश्य हुन्छ ।’

राष्ट्र बैंकको विनियमावली अनुसार लाभांस बाँड्न नदिने, शाखा बिस्तारमा रोक लगाउने, सञ्चालक तथा माथिल्लो ब्यवस्थापनलाई जरिवाना वा अन्य कारवाही गर्न सक्ने र अन्य बैंकमा जागिर खान जान नदिनेसम्मको कारबाही हुनसक्छ ।

स्रोतका अनुसार राष्ट्र बैंकले दुबै बैंकलाई कारबाही स्वरुप ५ लाख रुपैयाँ तिराउने तयारी गरेको छ । त्यसैगरी, लाभांस बाँड्न नदिने, शाखा बिस्तारमा रोक लगाउने लगायतका कारबाही पनि गर्नेछ । र, दुबैलाई मर्जरमा जान तीब्र दबाब दिने भएको छ ।

कर्मचारी समायोजन, सञ्चालक समितिमा प्रतिनिधित्व र मूल्यमा कुरा नमिलेपछि यी दुई बैंकबीचको एक्विजिसन प्रक्रिया अवरुद्ध भएको हो ।

दुबै बैंकका प्रतिनिधिले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।

प्राइम बैंकका अधिकारीहरु ओमले मागेका सबै शर्त पूरा गर्न आफूहरु तयार हुँदा हुँदै पनि उ एक्कासी प्रक्रियाबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

उता ओमका अधिकारीहरु भने प्राइमले कुनैपनि प्रक्रिया अघि नबढाएको र ओमलाई अबमूल्यन गरेको आरोप लगाएका छन् ।

उनीहरु दुबैको दाबी यो छ कि प्रक्रिया अवरुद्ध हुनुमा आफ्नो गल्ती छैन ।

दुबै बैंकले मर्जर तथा एक्वायरका लागि अरु संस्थासँगको कुराकानीलाई अघि बढाइसकेका छन् ।


पुष्प दुलाल