बैशाखदेखि नै लगानीकर्तालाई एकै ठाउँबाट सम्पूर्ण सेवा, बढ्ला त लगानी ?



काठमाडौं । उद्योग वणिज्य तथा आपुर्ति मन्त्रालयले यहि बैशाख महिनाभित्रै उद्योग विभागबाट एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

यो केन्द्र सञ्चालनमा ल्याएसँगै विदेशी लगानीकर्ताहरुले उद्योग दर्ता, विदेशी लगानी तथा ऋणको स्वीकृति, कम्पनी दर्ता तथा कम्पनी प्रशासन, श्रम स्वीकृति, भिसा सुविभा लगायतका सेवा एकै ठाँउमा पाउने छन् ।

लगानीकर्ताहरुले यसका लागि विभिन्न मन्त्रालय, विभाग धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

यसअघि विदेशी लगानीकर्ताहरुले उद्योग खोल्न चाहेमा विभिन्न निकाय जानु पर्ने बाध्यता थियो । यसअघि विदेशी लगानीकर्ताहरु विभिन्न निकायमा जानुपर्ने तथा सरकारी कर्मचारीको ढिलासुस्तीका कारण विदेशी लगानीकर्ता आर्कषित हुने भन्दा विर्कषण हुने देखिन्थ्यो ।

उद्योग सचिव याम कुमारी खतिवडाका अनुसार एकल बिन्दु सेवा केन्द्र यहि वैशाख महिना भित्रमा सञ्चालनमा आइसक्ने छ ।

उक्त केन्द्र उद्योग विभागमा नै रहने छ । अहिले विभागको भवन निर्माणको अन्तिम चरणमा रहेको सचिव खतिवडाको भनाई छ ।

‘भवन निर्माणको काम अहिले लगभग ९० प्रतिशत सकिसकेको छ’ सचिव खतिवडाले क्लिकमाण्डूसँग भनिन्, ‘भवन निर्माण नसकिएपनि वैशाख महिना भित्रैमा सेन्टरले काम सुरु गर्ने छ, भवन निर्माणको काम नसकिए अहिलेका लागि एउटा मात्र डेक्स राखेर भएपनि काम सुरु हुन्छ ।’

यसको आवश्यक तयारी भइरहेको उनको भनाई छ । खतिवडाका अनुसार अब लगानीकर्ताहरुले एकै ठाँउबाट सबै सेवा पाउने निश्चित भएको छ ।

कुनै लगानीकर्ताहरुले लगानी गर्न चाह्यो भने यो सेन्टर सञ्चानमा आएपछि सबै काम एकै ठाँउबाट हुनेछ ।

यो विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयक २०७५ मा एकल बिन्दु केन्द्रको व्यवस्था रहेको छ ।

विधेयकले विदेशी लगानी भएका उधोग वा विदेशी लगानीकर्तालाई प्रदान गरिने छुट, सुविधा र सहुलियत समेत प्रदान गर्ने भएको छ ।

विधेयकमा भनिएको छ, ‘विदेशी लगानी भएका उधोगलाई प्रचलित कानून बमोजिम रुग्ण उद्योगले पाउने सेवा सुविधा उपलब्ध हुने छ ।’

उद्योगले नेपालका कुनै वाणिज्य बैंकमा परिवत्र्य विदेशी मुद्रा, नेपाली मुद्रा वा दुवै मुद्रामा खाता खोली करोबार गर्न सक्ने लगायतका विविध छुट, सुविधा र सहुलियत प्रदान गरेको छ ।

२०७२र७३ एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने भनिए पनि हालसम्म सञ्चालन हुन सकेको थिएन । यो समयमा विभिन्न सरकार बने पनि सो केन्द्र सञ्चालनलाई पूर्णता दिन सकेका थिएनन् ।

विधेयकले विदेशी लगानी भएका उधोग वा विदेशी लगानीकर्तालाई प्रदान गरिने छुट, सुविधा र सहुलियत समेत प्रदान गर्ने भएको छ ।


पुष्प दुलाल