मोट्रेक्सको कडा शर्त स्वीकार्य छैन भन्दै नाडाको डेलिगेशन, लगानी बोर्डका सीइओले के भने ?



काठमाडौं । लगानी बोर्डले नेपालमा एसेम्बल प्लान्ट राखेर गाडी बनाउन सैद्दान्तिक स्वीकृति दिएको कोरियन मोट्रेक्सले कडा शर्त राखेपछि शशंकित भएका व्यवसायीहरुले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई भेटेका छन् ।

मोट्रेक्सले आफूले उत्पादन थालेको ७ वर्षसम्म अर्को कम्पनीलाई गाडी उत्पादनको अनुमति दिन नहुने शर्तमा अटोमोवाइल्स व्यवसायीहरुले आपत्ति जनाएका हुन् ।

यस्ता पो रहेछन् नेपालमै गाडी उत्पादन गर्न कोरियन कम्पनी मोट्रेक्सले राखेका दर्जन शर्त

‘मोट्रेक्सले प्रतिस्पर्धा रोक्नेगरी आफुले उत्पादन थालेको ७ वर्षसम्म अरु कुनैपनि कम्पनीलाई लाइसेन्स दिन नहुने शर्त राखेको छ, यो हाम्रा लागि स्वीकार्य हुँदैन’ भेटमा नेपाल अटोमोवाइल्स डिलर एशोसिएशनका अध्यक्ष शम्भू दाहालले भने ।

त्यसैगरी, मोट्रेक्सले विदेशबाट गाडी आयात गरेर बेच्न पाउनु पर्ने शर्त राखेको छ । विदेशी लगानीकर्ताले व्यापारमा लगानी गर्न पाउने नेपालको कानून नभएको भन्दै मोट्रेक्ससँग के कुरा भएको प्रष्ट पार्न सीइओ अधिकारीलाई नाडाका पदाधिकारीहरुले आग्रह गरेका थिए ।

‘विदेश लगानी आउनुपर्छ हामी विदेशी लगानीलाई स्वागत गर्छौं,’ नाडाका अध्यक्ष दाहालले भने, ‘तर, अरु कम्पनी आउनै पाउँदैनन्, प्रतिस्पर्धा हुनु हुँदैन भन्ने शर्त मान्न सकिँदैन ।’

व्यवसायीहरुको माग सकरात्मक रहेको लगानी बोर्डका सीइओ अधिकारीले बताए ।

‘हामीले मोट्रेक्सलाई गाडी उत्पादनको अनुमति दिइसकेका होइनौं, विस्तृत संभाव्यता अध्ययनका लागि सैद्दान्तिक सहमति मात्रै दिएका हौं,’ लगानी बोर्डका सीइओ अधिकारीको भनाई उल्लेख गर्दै भेटमा सहभागी एक व्यवसायीले भने, ‘मोट्रेक्सले शर्त राख्ने उसको कुरा हो, मान्ने वा नमान्ने हाम्रो कुरा हो ।’

गाडी उत्पादनको अनुमति लिएर ‘लाइसेन्स होल्ड’ गर्ने कोरियन कम्पनीको दाउ, यस्तो छ नालीबेली

सीइओ अधिकारीले आफू पारदर्शितामा विश्वास गर्ने भएकाले अपारदर्शी र प्रतिस्पर्धाबिनाको काम नगर्ने प्रष्ट पारे ।

‘पारदर्शिताका लागि प्रतिस्पर्धा चाहिन्छ, हामी प्रतिस्पर्धा हुनेगरी नै काम गर्छौं, तपाईहरु आत्तिनु पर्दैन,’ अधिकारीले विश्वस्त पारे, ‘तपाईंहरुले उठाएका माग अत्यन्तै जायज छन्, हामीले यसलाई गंभीररुपमा लिएका छौं ।’

मंगलबार दिउसो १ बजे नाडा अध्यक्ष शम्भु दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नाडाका निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ, नाडाका उपाध्यक्ष कृष्ण दुलाल, बैद्यज अर्गनाइजेशनकी ऋतुसिंह बैद्य, लक्ष्मी हुण्डाइका निराकर श्रेष्ठ, अग्नि इन्कर्पोरेटेडका निर्देशक अर्जुन शर्मा, गो फोर्डका निर्देशक आकाश गोल्छा, सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र कैलाशराज भण्डारीको टोलीले लगानी बोर्डका सीइओ अधिकारीलाई भेटेको थियो ।

भेट अत्यत्नै फलदायी भएको नाडाका उपाध्यक्ष दुलालले बताए ।

‘हामीले मिडियामा मोट्रेक्सका शर्तबारे पढेका थियौं, सरकारले ती शर्त मानेरै पो स्वीकृति दिएको हो कि भन्ने हाम्रो आशंका थियो,’ दुलालले क्लिकमाण्डूसँग भने, ‘तर, त्यस्तो होइन रहेछ, लगानी बोर्डका सीइओले अरु कम्पनीलाई रोक्ने गरी मोट्रेक्सलाई लाइसेन्स नदिने र सबै कम्पनीलाई समान रुपमा हेर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’

पछिल्लो समय मोट्रेक्सले चाँडो उत्पादन अनुमति दिन लगानी बोर्डलाई तीब्र दबाब दिइरहेको छ । नेकपाका ठूला नेताहरुबाट यस्तो दबाब आइरहेको लगानी बोर्डका अधिकारीहरु बताउँछन् ।

कम्पनीले पेश गरेको प्रस्तावका बारेमा लगानी बोर्डका सीइओ संयोजक रहेको समितिले थप अध्ययन र छलफल गरेर लगानी सम्झौता गर्ने व्यवस्था छ । समितिमा अर्थ, उद्योग, वाणिज्य, कानुन मन्त्रालयका सहसचिब रहनेछन् भने लगानी बोर्डका सहसचिव उक्त कसमिटिको सदस्यसचिव रहनेछन् ।


क्लिकमान्डु