जनताको जलविद्युतमा समेटिए रसुवागढी र साञ्जेन, १ अर्ब ५४ करोडको साधारण सेयर आउँदै



काठमाडौँ । सरकारले जनताको जलविद्युत् कार्यक्रममा रसुवागढी र साञ्जेन जलविद्युत आयोजनालाई समावेश गरेको छ । ती दुई आयोजनाको केही समयभित्रै साधारण सेयर बिक्री हुने भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको ती दुई कम्पनीले निकट भविष्यमा नै आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिका सदस्य सचिव एवं एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार ती आयोजना समेत जनताको जलविद्युत्मा समावेश भएपछि कूल आयोजनाको संख्या २१ पुगेका छन् ।

नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई सेयर बिक्रीको स्वीकृति दिइसकेको छ ।

बोर्डले साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई ५४ करोड ७५ लाख रुपैँया बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर बिक्रीको अनुमति दिएको छ ।

यस्तै रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले १ अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४.८ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ .५ मेगावाट छ ।

रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करिब ७० प्रतिशतको हाराहारीमा रहेको छ ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १९ वटा आयोजना छनोट गरी ३ हजार ५०० मेगावाट क्षमता बराबरको आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत सेयर जुटाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शेयर बिक्री भई बाँडफाँट भइसकेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा सेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण सेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो ।

ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् ।


पुष्प दुलाल