खर्चालु पर्यटक भित्र्याउन ‘हाई अल्टिच्युड’मा ११ अर्बको लक्जरी रिसोर्ट, कस्ले गर्ला लगानी ?



काठमाडौं। खर्चालु पर्यटक भित्र्याउने उद्देश्यले हाइ अल्टिच्युडमा लक्जरी रिसोर्ट खोल्नका लागि लगानी बोर्डले लगानीकर्तालाई आह्वान गर्ने भएको छ । त्यसका लागि बोर्डले डोल्पाको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पाँच तारे स्तरको लक्जरी रिसोर्टको आयोजना प्रस्तुत गर्ने भएको छ ।

संसारभर नै लक्जरी टुरिज्जम फष्टाउँदै गएकोले शे फोक्सुन्डोमा रिसोर्ट खोल्दा विदेशी पर्यटक आकर्षित हुनसक्ने भन्दै उक्त आयोजना अघि सारेको हो ।

यही चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुँदैछ ।

सन् २०१६/०१७ मा शे फोक्सुण्डोमा ५ सय ३५ जना पर्यटक गएका थिए । स्तरीय होटेल नभएका कारण राम्रो खर्च गरेर पर्यटकहरु त्यहाँ बस्न पाइरहेका छैनन् । 

१०० कोठा भएको उक्त रिसोर्ट निर्माणका लागि ११ अर्ब रुपैयाँ खर्च लाग्ने बोर्डको अनुमान छ । यो रिसोर्टमा पर्यटकले बेग्लै अनुभूति गर्न पाउने बोर्डको भनाई छ । रिसोर्ट अत्याधुनिक सुविधासम्पन्न हुनेछ ।

लगानी बोर्डले यो रिसोर्ट पीपीपी मोडेलमा निर्माण गर्न सकिने जनाएको छ ।  रिर्सोट निर्माण भएको ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

सन् १९८४ मा स्थापना भएको यो निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो।


पुष्प दुलाल