लुम्बिनीमा बुद्ध जन्माउने अस्पताल !



काठमाडौं । सरकारले गौतम वुद्धको जन्मस्थल लुम्बीनीमा बच्चा जन्माउनका लागि पर्यटक आकर्षित गर्ने उद्देश्यले अस्पताल खोल्ने प्रस्ताब गरेको छ । गौतम वुद्धको जन्मस्थलमा बच्चा जन्माउनका लागि संसारभरबाट पर्यटक भित्र्याउने उदेश्यले अस्पताल खोल्न प्रस्ताब गरिएको हो ।

लगानी बोर्डले तयार पारेको आयोजना बैंकमा गौतमवुद्ध अन्तर्राष्ट्रिय प्रसुति अस्पताल परियोजना यही चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनमा अघि सारेको छ ।

वुद्धको जन्मभूमिका आएर बच्चा जन्माउनका लागि संसारभरका मान्छेहरु आकर्षित हुने भन्दै लगानी बोर्डले यस्तो सेवा दिने अस्पताल खोल्न प्रस्ताब गरेको हो ।

लगानी बोर्डका अनुसार अस्पताल खोल्नका लागि ४ अर्ब २५ करोड रुपैयाँ लाग्नेछ । अस्पताल २ सय शैयाको हुने प्रस्ताव गरिएको छ । अस्पताल निर्माणका लागि १० हेक्टर जग्गा आवश्यक पर्ने बोर्डको प्रस्तावमा उल्लेख छ ।

सरकारले लुम्बीनीलाई मेडिकल टुरिजमको हबका रुपमा विकास गर्न यस्तो प्रस्ताव गरेको हो । त्यस्तो अस्पतालमा अत्याधुनिक चिकित्सा सुविधासहित बौद्ध दर्शनमा आधारित उपचार पद्दतिसमेत उपलब्ध हुनेछ ।

सन् २०१७ मा विश्वमा साढे १५ खर्ब नेपाली रुपैयाँ बराबरको मेडिकल टुरिजमको कारोबार हुने गरेको बोर्डले जनाएको छ ।

नेपालमा १ हजार जनाका लागि ०.३६ जना डाक्टर, १.१७ जना नर्स र ०.९ वटा अस्पताल रहेको अवस्थालाई मध्यनजर गर्दै बोर्डले अस्पताल खोल्नुको आवश्यकता पुष्टि गर्न खोजेको छ । यसले नेपालमा अझै पनि गुणस्तरीय र सर्वसुलभ अस्पताल स्थापना गरे त्यसबाट राम्रो प्रतिफल लिन सकिने बोर्डको ठहर छ ।

एक वर्षभित्र निर्माण पूर्वका काम सम्पन्न गर्ने, वित्तीय व्यवस्थापन गर्ने र ३ वर्षभित्र अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसक्ने प्रस्ताबमा उल्लेख छ । सो अस्पताल ३० वर्ष सञ्चालन गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।


पुष्प दुलाल