‘नेप्सेको अनलाइन सिस्टम फेल, अर्थ मन्त्रालयको हस्तक्षेप पुगेन’



काठमाडौं । आइतबार दिउसो १२ः४६ बजेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार हुन सकेन । कारण थियो– नेप्सेको अनलाइन सिस्टम निर्माता वाइको प्रालिको प्रोटोकल लेयरमा आएको समस्या ।

वाइकोको प्रोटोकल लेयरमा समस्या आउँदा आइतबार दुई घन्टा सेयर कारोबार ठप्प भयो ।

केही समयअघि नेप्सेले अनलाइन कारोबार शुरु गरेको थियो । तर, बेलाबेलामा आइरहने यस्ता समस्याले लगानीकर्तालाई हैरान बनाएको छ । जसकारण नेप्सेको अनलाइन प्रणाली शतप्रतिशत फेल भएको भन्ने टिक्काटिप्पणी सुनिन थालेका छन् ।

नेप्सेले कामै नलाग्ने अनलाइन सिस्टम ल्याएको र त्यो सिस्टमका कारण लाखौं लगानीकर्ताहरुको लगानी डुब्ने खतरा रहेको लगानीकर्ताहरु बताउँछन् ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले १२ बजेर ४६ मिनेटपछि लगानीकर्ता आफ्नो लगानी गर्न पाउने अधिकारबाट बञ्चित भएको बताए ।

‘यसले लगानीकर्तालाई डुबाउने काम भएको छ, नेप्सेले लगानीकर्तालाई घात गर्दा राज्यले पाउने राजश्वम पनि नोक्सानी भएको छ,’ अध्यक्ष अर्यालले क्लिकमाण्डूसँग भने ।

नेप्सेले अनलाइन प्रणाली ल्याएपछि विभिन्न खालका समस्या देखिने गरेको भन्दै उनले अब लगानीकर्तामा अनलाइनप्रतिको विश्वसनियता गुमेको दाबी गरे ।

बजारमा केही सुधारको संकेत देखिनासाथ चलखेल गर्न चाहने शक्तिले शतप्रतिशत फेरियर अनलाइन सिस्टमको प्रयोग गरेको अर्का एक लगानीकर्ताको तर्क छ ।

नेप्सेले समय समयमा अनलाइनमा समस्या देखाउँदै कारोबार स्थगीत गर्दा लगानीकर्तालाई डुबाउने काम भएको भन्दै अब अर्थ मन्त्रालयले यहाँ पनि हस्तक्षेप गर्नुको बिकल्प नभएको अर्यालको भनाई छ ।

‘अनलाइनमा बारम्बार समस्या आइरहेको छ, यो अवस्थामा अर्थमन्त्रालयले हस्तक्षप गर्नुको विकल्प छैन, कामै नलाग्ने अनलाइन नेप्सेले किन ल्याएको हो, यसको बारेमा पनि सबैलाई जानकारी गराउनै पर्छ,’ उनले भने ।

सिस्टममा समस्या देखिएपछि समय थनेर कारोबार गर्नुपर्नेमा नेप्सेले त्यसो नगर्नुले लगानीकर्तामाथि घात भएको र अनलाइनको विश्वसनियता पुरै गुमेको अर्याल बताउँछन् ।

‘सिस्टममा खराबी आएपछि मैले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई फोन गरे, उहाँले सिस्टममा समस्या आयो, हामी हेर्दै छौं भन्नुभयो, त्यसपछि के भयो उहाँले केही जानकारी गराउनु भएन, ३ बजेपछि समय थपेर कारोबार हुन्छ कि हुँदैन भनेर सोध्दा प्राविधिक रुपमा समय थप्ने विषयमा हेर्नै पर्ने बताउनु भयो,’ उनले भने ।

अनलाइनको सिस्टम नै कोल्याप्स भइसकेकोले यसको विकल्पमा जानुपर्ने उनको भनाई छ ।

यता नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षण चौधरीले पनि अनलाइनमा धेरै नै समस्या देखिएको भन्दै यो भन्दा पुरानै सिस्टम ठिक हो की भन्नेमा लगानीकर्ताहरु पुगेको बताइन् ।

सवा २ घन्टासम्म पनि नेप्सेको सिस्टमले काम नगर्नु भनेको भित्री चलखेल भएको हुन सक्ने उनको आशंका पनि छ । नेप्सेले बारम्बार लगानीकर्तालाई झुक्याउने खेल खेलेको भन्दै यसबाट सबै लगानीकर्ता प्रत्यक्ष पीडित भएको उनको भनाइ छ ।

स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष भरत रानाभाटले नेप्सेको कमजोरीको कारण ब्रोकर, लगानीकर्ता सबैलाई प्रत्यक्ष असर परेको बताए ।

‘कारोबार नभएको खण्डमा हाम्रो रेभिन्यू नै उठदैन्,’ रानाभाटले भने ‘यसरी करोबार बन्द हुने र पनि समय थपेर कारोबार नगर्दा ब्रोकर, लगानीकर्ता, राज्य सबैलाई घाटा लाग्छ ।’

सेयर बजार सूचनाको बजार भएकोले नेप्सेले यसरी सिस्टममा खराबी देखिएपछि कस्तो खालको समस्या हो, कारोबार हुन्छ की हुँदैन, समय थपिन्छ की थपिँदैन जस्ता कुराको समयमा नै जानकारी गराउनु पर्ने उनको भनाई छ ।

बारम्बार यसरी समस्या देखिँदा यसलाई धितोपत्र बोर्ड वा अर्थ मन्त्रालयले नै हेर्नुपर्ने अवस्था पनि आउन सक्ने उनको तर्क छ ।

यता नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विज्ञप्ति जारी गर्दै प्रणाली निर्माता कम्पनी वाईको प्रालिको (प्रोटोकल लेयर) मा समस्या आएको उल्लेख गरेका छन् ।


पुष्प दुलाल