नेपालमा मणिपाल कलेज चलाउने रञ्जन पई भारतको ८६औं ठूला धनी
काठमाडौं । विश्वका धनीहरुको सूची सार्वजनिक गर्ने फोबसकाअनुसार नेपालमा समेत मेडिकल कलेज सञ्चालन गरिरहेको मणिपाल समूहका रञ्जन पई समेत धनीको सूचीमा परेका छन् ।
फोर्बसका अनुसार ४५ वर्षीय रञ्जनको सम्पत्ति एक अर्ब ८६ करोड डलर अर्थात् १३,७०५ करोड भारु बराबरको छ ।
मलेशियाको मेलका मणिपाल मेडिकल कलेजको व्यवस्थापक निर्देशकका रूपमा काम थालेका रञ्जनले विस्तारै सफलताको बाटो तय गर्दै गए । नेपालमा पनि लामो समयदेखि मेडिकल कलेज सञ्चालनमा रहेको छ ।
सो कलेजमा नेपाल र भारतका विद्यार्थीले अध्ययन गरिरहेका छन । पोखरामा मण्पिाल मेडिलक कलेज उनकै समूहको लगानी रहेको छ । मणिपाल समूहअन्तर्गत ६ वटा मेडिकल कलेज र १६ वटा अस्पताल सञ्चालनमा रहेका छन् ।
भारतबाहेक नेपाल, मलेशिया, दुबई र एन्टिगुवामा सो समूहका मेडिकल कलेज रहेका छन् ।
फोर्बस इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ। लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि रहेका छन् ।
अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सम्पत्ति ४७.३ अर्ब डलर बराबरको रहेको बिबिसीले जनाएको छ । दोस्रो स्थानमा अजीम प्रेमजी, तेस्रोमा लक्ष्मी मित्तल, चौथोमा हिन्दुजा ब्रदर्स र पाँचौँ स्थानमा पालोनजी मिस्त्री परेका छन्।
भारतका यी शीर्षस्थ पाँच अर्बपतिहरूको उमेर ६१ देखि ८९ वर्ष बीचको रहेको रहेको पछिल्लो विवरणमा उल्लेख छ। ठूला सय जना अर्बपतिहरूको सूचीमा कैयौँ युवा पनि समेटिएका छन् ।
३६ वर्षीय दिव्यांक तुराखिया र ३८ वर्षीय भाविन तुराखिया डाइरेक्ट आई कम्पनीका सहसंस्थापक हुन ।
डाइरेक्ट आई विभिन्न प्रविधि कम्पनीहरूको समूह हो, जसको स्थापनमा सन् १९९८ मा २५ हजार भारु लागतमा गरिएको थियो । सो कम्पनीको सम्पत्ति अहिले एक अर्ब ५५ करोड डलर अर्थात् ११,४३३ करोड भारु बराबरको रहेको बिबिसीको विवरणमा उल्लेख छ ।
भारतका ठूला सयजना अर्बपतिको सूचीमा यी दाजुभाइ ९७ औँ स्थानमा रहेका छन् । खेलकुदसम्बन्धी व्यवसायबाट थालनी गरेका मुम्बईका यी दाजुभाइले अनलाइन विज्ञापनदेखि एपजगत्मा सफलता हासिल गरेका छन । भारतका साथै अमेरिका र संयुक्त अरब एमिरेट्सबाट पनि यी दाजुभाइको कम्पनी सञ्चालनमा रहेका छन् ।
भारतमा ’नोटबन्दी’पछि पेटीएमले अभूतपूर्व सफलता हासिल गरेको छ। डिजिटल बिल कारोबारबाट थालिएको उसको यात्रा अहिले ई कमर्सको दुनियाँमा पुगेको छ । विजय शेखर शर्माले सन २०१० मा पेटीएमको स्थापना गरेका थिए । भारतका ठूला १०० धनीको सूचीमा ४० वर्षीय विजय शेखर ७४ औँ स्थानमा छन् ।
पेटीएमको अहिलेको सम्पत्ति दुई अर्ब १५ करोड डलर अर्थात् १५, ८५५ करोड भारु बराबरको छ । अलिगढका विजय शेखरले प्रारम्भिक दिनमा आफ्नो अंग्रेजी भाषा राम्रो नभएका कारण समस्या झेल्नुपरेको थियो ।
स्नातक पढ्दै गर्दा उनले आफ्नो व्यवसायको थालनी गरेका थिए। युवा अर्बपतिहरूको सूचीमा तेस्रो स्थानमा रहेका ४१ वर्षीय शमशीर भायलील भीपीएस हेल्थ केयरका सञ्चालक हुन्। उनी फोर्बसको सूचीमा ९८ औँ स्थानमा छन् । उनको सम्पत्ति एक अर्ब ५४ करोड डलर अर्थात् ११, ३६९ करोड भारु बराबरको छ ।
सन् २००७ मा एउटा अस्पतालबाट व्यवसाय थालेका शमशीरले भारतबाहेक संयुक्त अरब एमिरेट्स र ओमानमा आफ्नो व्यवसाय विस्तार गरिसकेको बिबिसीले जनाएको छ ।
केरलामा जन्मिएका शमशीरले संयुक्त अरब एमिरेट्समा एक रेडियोलोजिस्टका रूपमा काम थालेका थिए। एक वर्ष जागिर खाएपछि उनले अस्पताल स्थापना गरे। हालै केरलाका बाढीपीडितका लागि उनले ५० करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए ।
दिल्लीको हौजखास क्षेत्रमा जस्ताको छाना भएको घरबाट कार्यालयबाट व्यवसाय थालेका समीर गहलोत भारतका सबैभन्दा सम्पन्न युवा हुन् ।
कूल ४० वर्षीय समीर इन्डियाबुल्स समूहका संस्थापक अध्यक्ष हुन्। फोर्बसका अनुसार उनको सम्पत्ति चार अर्ब दुई करोड डलर अर्थात् ३०, ९२५ करोड भारु बराबरको छ। भारतका शीर्षस्थ अर्बपतिको सूचीमा उनी २९ औँ स्थानमा परेका छन्।
मेकानिकल इन्जिनिरिङ पढेका हरियाणाका समीर जागिर खान विदेश गए। दुई वर्षपछि स्वदेश फर्केर एउटा ब्रोकरिङ कम्पनी सस्तोमा किने । त्यससँगै उनले घरजग्गा कारोबारलाई पनि अगाडि बढाए र सफलता पाउँदै गए।