लिखु-तामाकोशी गाउँपालिकाका अध्यक्ष भन्छन्- मेरो चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक प्रचार गरियो



काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक प्रचार गरिएको बताएका छन् ।

केही दिनअघि रामेछापको लिखु-तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामामा गाउँपालिका अध्यक्षले पैसाको बार्गेनिङ गरेको र नदिँदा आयोजना अवरुद्ध गरेको भन्दै आयोजनाका सञ्चालकहरुले मिडिया लबिङ गरेका थिए ।

विभिन्न मिडियामा गाउँपालिका अध्यक्षलाई दोषी देखाउँदै समाचारहरु प्रकाशित/प्रसारित भएका थिए ।

तर, गाउँपालिका अध्यक्ष खड्काले आफूले सो आयोजनासँग एक रुपैयाँ पनि पैसा नमागेको बताए ।

‘मैले आयोजनाका सञ्चालकहरुलाई कागजमा भएको सम्झौता कार्यान्वयन गर्नु भनेर भनेको हुँ । र, गाउँपालिकाको दायरामा आउन पटकपटक पत्राचार गर्दा पनि आउनुभएन । बार्गेनिङ गर्यो भन्दै प्रचार गर्दै हिँड्नुभयो,’ अध्यक्ष खड्काले प्रष्ट पारे ।

संविधानले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरेर कानूनी दायरामा आउनू भन्दा आफ्नो नैतिकता सिध्याउने उद्देश्ये मिडियाबाजी गरिएको भन्दै खड्काले आक्रोश पोखे ।

आयोजनाले गाउँपालिकाको स्वीकृति नलिइ क्रसर सञ्चालन गरिरहेको र उक्त क्रसरलाई गाउँपालिकाका दायरात्रि ल्याउन पत्राचारा गर्दा आयोजनाले उल्टै दादागिरी देखाएको उनको भनाई थियो ।

‘हामीले राज्यबाट स्वीकृति दिएका छौं भन्दै आयोजनाका सञ्चालकहरुले हाम्रो पत्रको जवाफ पनि दिएनन्,’ खड्काले भने, ‘स्थानीय तह पनि राज्य हो । स्थानीय स्रोत र साधनको उपयोग र सञ्चालमा हाम्रो पनि अधिकार छ ।’

जलविद्युत क्षेत्रका माफियाहरु आफ्नो राजनीतिक करियर सिध्याउन लागेको भन्दै सबैलाई सचेत रहन उनले आग्रह गरे ।

‘नियम, कानून र सम्झौता अनुरुप काम गर भनेर भन्दा बार्गेनिङ गरेको आरोप लगाउने ? अनि मिडियाले एकतर्फी कुरा छाप्ने ?’ खड्काले प्रश्न गरे ।

***

यसअघि क्लिकमाण्डू डटकमले पनि आयोजनाका केही पदाधिकारीले दिएको अनौपचारिक सूचनाका आधारमा गाउँपालिका अध्यक्ष्यले पैसा मागेपछि भनेर समाचार लेखेको थियो । आयोजनाले गरेको मिडियाबाजी नबुझ्दा हाम्रो तर्फबाट गलत सूचना सम्प्रेषण भएको र त्यसबाट गाउँपालिका अध्यक्ष खड्कालाई पर्न गएको क्षतिप्रति क्षमा प्रार्थी छौं । – सम्पादक


पुष्प दुलाल