भारतीय कम्पनीका दुई प्रवृत्तिः एउटा म्याद थपको दौडमा, अर्को धमाधम काम गर्दै



काठमाडौ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरको म्याद थप हुने वा नहुने भन्नेमा अन्यौल रहेको बेला भारतीय कम्पनीको अर्को आयोजना अरुण तेस्रोको काम भने धमाधम अगाडि बढीरहेको छ ।

माथिल्लो कर्णालीको म्याद थपका लागि लगानी बोर्डमा आवेदन परेको भएपनि हालसम्म कुनै निर्णय हुन सकेको छैन । गत असोज २ गतेदेखि जिएमआरको म्याद सकिएको हो ।

गत वर्ष दिएको वित्तीय व्यवस्थापन गर्ने म्याद गत आसेजमा सकिएको थियो । तर जिएमआरले भने गत भदौमा नै म्याद थपका लागि बोर्डमा आवेदन दिएको थियो ।

जिएमआरले म्याद थपका लागि आवेदन दिएपछि बोर्डको बैठक ४ पटक बसीसकेको छ । तर म्याद थपकोबारेमा कुनै निर्णय भएको छैन ।

तर माथिल्लो कर्णालीको भन्दा पछि आयोजना विकास सम्झौता भएको अरुण तेस्रोको काम भने धमाधम अगाडि बढेको छ । आयोजनाकाअनुसार हालसम्म सो आयोजनाको भौतिक प्रगति १५ प्रतिशत भएको छ ।

आयोजनाकाअनुसार मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ ।

उक्त आयोजनामा नेपाली र भारतीय गरी २ हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज विद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार अहिलेसम्म ३५२ मिटर सुरुङ्मार्ग खन्ने काम सकिएको छ ।

आयोजना निर्माण स्थलसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना स्थलमा बिजुली नहुँदा निर्माणमा ढिलाइ भइरहेको शर्माको दावी छ ।

कूल ९०० मेगावाट क्षमताको उक्त परियोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


पुष्प दुलाल