हाइड्रो एक्स्पो सम्पन्न, ६० हजारले गरे अवलोकन




काठमाडौ । राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ ।  शुक्रबारदेखि सुरु भएको एक्स्पोमा अवलोकनकर्ताको उत्साहजन उपस्थिती देखिएको छ । तीन दिनमा ६० हजार बढीले अवलोकन गरेको एक्स्पो आयोजकले जनाकारी दिएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा जारी एक्स्पोमा शुक्रबार १२ हजारले अवलोकन गरेका थिए । शनिबार २८ हजारले अवलोकन गरेको एक्स्पोको अन्तिम दिन २० हजार बढीले अवलोकन गरेका छन् ।
विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको थियो । यसका साथै रोबो कम्पिटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ ।
एक्स्पोमा सहभागिहरुलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराइएको छ । पहिलो संस्करणबाट दोस्रो संस्करणमा आईपुग्दा जलविद्युत क्षेत्रसँग सम्बद्ध व्यक्ति तथा संस्थाको उल्लेख्य सहभागिताले आगामी दिनहरुमा एक्स्पोलाई अझै परिष्कृत रुपमा आयोजना गरिने आयोजकले जनाएको छ ।

एक्पोको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श उपलब्ध गराएका थिए । एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता थियो ।
विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य आकर्षण बनेका थिए ।


पुष्प दुलाल