माघभित्रै एचआइडिसिएलको १०० हकप्रद सेयर, चुक्ता पुँजी २२ अर्ब बनाउने



काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी २२ अर्ब बनाउनका लागि कम्पनीले एक बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।

हकप्रद सेयर जारी गर्नका लागि प्रक्रिया अघि बढाइसकिएको र यही माघभित्रै हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । सोमबार सम्पन्न कम्पनीको सातौं साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर पारित गरेको छ ।

बोनस सेयर पारित भएसँगै कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ पुगेको छ । उक्त ११ अर्ब चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागिएको हो ।

हकप्रद सेयर जारीपछि संस्थापक पुँजी १७ अर्ब ६० करोड र सर्वसाधारणको ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ ।

कम्पनीले तयार पारेको ५ वर्षे व्यावसायिक योजना अनुसार आव २०७८/७९ सम्म ३ हजार २ सय ३८ मेगावाटका आयोजनामा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ ।

हाल कम्पनीले ५ सय ७९ मेगावाटका आयोजनामा करिब साढे २ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।


पुष्प दुलाल