किन बिक्दैनन् बैंकले निकालेको ऋणपत्र ?
काठमाडौं । निक्षेपको वृद्धिले कर्जाको माग धान्न नसकेपछि बैंकहरुले ऋणपत्रलाई पुँजी संकलनको माध्यम बनाए । राष्ट्र बैंक र धितोपत्र बोर्डबाट स्वीकृति लिएर बैंकहरुले ऋणपत्र निष्काशन पनि गरे ।
तर बैंकले निष्काशन गरेको ऋणपत्रमा सर्वसाधारण आकर्षित भएका छैनन् । बजारमा पैसा नभएका कारण बैंकले निष्काशन गरेको ऋणपत्र नबिक्ने स्थिति आएको अनुमान गरिएको छ ।
केही समयअघि सानिमा बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको ऋणपत्र निर्धारित समयमा बिकेन । ऋणपत्र नबिकेपछि १५ दिनका लागि समय थप गर्यो । समय थप गर्दा पनि सबै ऋणपत्र बिकेन ।
अहिले सिद्धार्थ बैंकले सर्वसाधारणका लागि ४ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरिरहेको छ । यो बैंकको ऋणपत्र पनि तोकिएको समयमै नबिक्ने देखिएको छ ।
किनभने शुक्रबार दिउसोसम्ममा ४३ हजार कित्ताका लागि मात्रै आवेदन परेको छ । सिद्धार्थ बैैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने समय अब दुई दिन मात्रै बाँकी छ ।
आइतबार र सोमबार ४ लाख ७ हजार कित्ता ऋणपत्र बिक्ला त ? पक्कै पनि बिक्दैन । यो बैंकले पनि सानिमा बैंकले जस्तै धितोपत्र बोर्डको अनुमति लिएर समय थप गर्नुपर्ने देखिएको छ ।
१०.५५ ब्याजदर हुने ऋणपत्रको अवधि ७ वर्ष हुनेछ ।सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।
अन्य केही बैंकले ऋणपत्र निष्काशनको अनुमति लिएर बसेका छन् । यसरी नबिकेको देख्दा तत्काल ऋणपत्र निष्काशन गर्न ती बैंकको आत्माबल कमजोर भएको अनुमान गरिएको छ ।