अर्थमन्त्रीले भने- मुख मात्रै चलाएर देश विकास हुँदैन, दिमाग पनि चलाउनुपर्छ (भिडियोसहित)



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुखमात्रै चलाएर देशको विकास नहुने बताएका छन् । केपी ओली नेतृत्वको सरकारले मुखमात्रै चलाएको भन्दै आलोचना भइरहेका बेला अर्थमन्त्री खतिवडाले यस्तो बताएका हु्न् ।

‘स्थानीय तहका दुई हातमध्ये एउटा सहकारी र अर्को निजी क्षेत्र हो,’ राजधानीमा शुक्रबार स्थानीय तह र प्रदेशमा सहकारी भूमिका विषयक गोष्ठीको उदघाटन गर्दै खतिवडाले भने – दुबै हात चलाउनु होला । मुखमात्रै चलाएर विकास हुँदैन । दिमाग चलाउनुपर्छ । किनभने हातमात्रै चलाउँदा कहिलेकाहीँ विवेक पुग्दैन ।’

स्थानीय तहहरुले आवधिक योजना बनाउँदा सहकारीको भूमिका प्रष्ट पार्नुपर्ने उनको भनाई थियो । सहकारीलाई अघि बढाएर काम गर्न सके मुलुकले लक्ष्य गरेको दिगो आर्थिक विकास प्राप्त हुने उनको भनाई थियो ।


‘सहकारी, निजी क्षेत्र र सामुदायीक क्षेत्रलाई के गराउने भनेर आवधिक योजनामै प्रष्ट उल्लेख हुनुपर्छ,’ खतिवडाले भने, ‘हामीले पनि अर्थतन्त्रको भूमिका के हुने भनेर किटेरै राखेका छौं ।’

सरकार र निजी क्षेत्र पुग्न नसकेका ठाउँमा पनि सहकारीले काम गरिरहेको भन्दै खतिवडाले सहकारी क्षेत्रको प्रसंसा गरे ।

‘हाम्रो विकासको मोडेल सरकार, निजी क्षेत्र र सहकारी हो । तर हामी एकअर्काका परिपुरक हुनुपर्ने ठाउँमा कहिलेकाहीँ प्रतिस्पर्धी बन्छौं, जुन जरुरी छैन,’ उनले भने ।

कृषियोग्य भूमि टुक्रिएका कारण कृषिको व्यावसायिकरण गर्न नसकेको उनले गुनासो गरे ।

‘प्राकृतिक स्रोतको सामूहिक उपयोग गर्न सकियो भनेमात्रै न्यायपूर्ण समाजको निर्माण गर्न सकिन्छ,’ खतिवडाले भने, ‘सहकारीहरुले भूमिको चक्लाबन्दी गर्नतर्फ भन्दा उत्पादन बढाउन भूमिका खेल्नुपर्छ ।’

सामाजिक न्यायका लागि सहकारीको मोडेल उपयुक्त हुने उनको भनाई थियो । कृषि उत्पादनलाई बजारिकीकरण गर्नुअघि प्रशोधन आवश्यक हुने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको उनले प्रष्ट पारे ।

‘दुग्धजन्य प्रसोधनमा सहकारीहरु प्रस्ताब लिएर आउनोस् सरकार हरेर किसिमका संरक्षण दिन तयार छ,’ खतिवडाले भने ।


पुष्प दुलाल