रंगको आयात बढ्दो, ३ महिनामै ८० करोडको रंग आयात



काठमाडौं । तिहार आयो । तिहारमा सबैभन्दा विशेष दिन लक्ष्मी पुजा र भाई टिकालाई मानिन्छ । लक्ष्मी पुजाको दिन घरमा लक्ष्मीको बास होस् भनेर विभिन्न रंगहरुले रंगोली बनाएर अकर्षक रुप दिने गरिन्छ ।

भाइटिकामा भने भाइको निदारमा सप्तरंगी टिका लगाइ उनीहरुको जिवनमा ७ रंग जस्तै खुसियाली होस भन्ने कामना गर्ने गरिन्छ ।
यसरी नेपालको विभिन्न चाडपर्वमा प्रयोग हुने सप्तरङ्गी रंगहरु चीन, जर्मनी, फिलिपिन्स, अमेरिका र भारतबाट आयात हुने गर्छ ।

चालु आर्थिक वर्षको ३ महिनामा ८० करोड ६४ लाख ५४ हजार रुपैयाँ बराबरको रंग आयात भएको छ । चालु आर्थिक वर्षमा २ अर्ब ७० करोड ३९ लाख किलो रंग आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३९ करोड ८० लाख ११ हजार रुपैयाँ बराबरको रंग आयात भएको थियो । सो अवधिमा १ अर्ब ४७ करोड ९८ लाख केजी रंग आयात भएको थियो ।

गत आर्थिक वर्षमा कुल १ अर्ब ५० करोड ८० लाख रुपैयाँ बराबरको रंग आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो अवधिमा ५ अर्ब ९५ करोड ६६ लाख केजी रंग आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७३/७४ सालमा १ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ बराबरको रंग आयात भएको भन्सार विभागका तथ्यांक अधिकृत राम प्रसाद वाग्लेले जानकारी दिए । सो अवधिमा ५ अर्ब ८३ करोड ४६ लाख केजी रंग आयात भएको थियो ।

उनका अनुसार प्रत्येक वर्ष रंगको आयात बढ्दो क्रममा रहेको छ । नेपालमा प्रत्येक चाडपर्वमा रंगको आवश्यक पर्ने र अबिर तथा केसरी दैनिक पुजापाठमा प्रयोग हुने भएकाले धेरै आयात हुने गरेको उनले बताए ।

उनका अनुसार रंगहरुमा सबैभन्दा बढी आयात हुने रंग अबीर र केसरी हो ।

‘नेपालमा पुजापाठमा अबीर र केसरीको प्रयोग हुन्छ । दैनिक प्रयोगका कारण पनि रंगको आयात बढेको हुन सक्छ,’ वाग्लेले भने ।
नेपालमा सबैभन्दा बढी रंग आयात होली र तिहारको समयमा हुने गरेको वाग्लेले बताए ।


पुष्प दुलाल