मन्त्रीबाट बर्खास्त भएपछि केशव स्थापित भने- अब सिधै ओली र प्रचण्डसँग कुरा गर्छु, आज त टिभी हेरेर बस्छु



काठमाडौं । प्रदेश नं. ३ को भौतिक पूर्वाधार मन्त्री पदबाट बर्खास्तीमा परेका केशब स्थापितले यस विषयमा अब आफूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डसँग कुरा गर्ने बताएका छन् ।

शुक्रबार (आज) मात्रै प्रदेश नं. ३ का मूख्यमन्त्री डोरमणि पौडेलले स्थापितलाई भौतिक पूर्वाधार मन्त्रीबाट बर्खास्ती गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएका थिए ।

आफूले पनि मिडियामार्फत बर्खास्तीमा परेको सूचना पाएको स्थापितले बताए ।

‘मिडियामा समाचार आएपछि मात्रै मलाई मुख्यमन्त्रीले बर्खास्त गरेको जानकारी पाएँ,’ स्थापितले क्लिकमाण्डूसँग भने, ‘पहिले मेरो हातमा बर्खास्तीको चिठ्ठी परोस्, अनि म सीधै प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डसँग कुरा गर्छु ।’

आफ्नो क्याविनेटमा राख्ने वा नराख्ने भन्ने अधिकार मूख्यमन्त्रीलाई हुने बताउँदै उनले के कारणले बर्खास्त गरिएको हो त्यो जनतामाझ प्रष्टरुपमा ल्याउनुपर्ने बताए ।

‘हामी राजनीति गर्ने मान्छेलाई पद पाउनु र पद गुमाउनु कुनै ठूलो कुरा होइन,’ स्थापितले भने ।

आफूले ओली र प्रचण्डलाई भेट्न खोजे पनि उनीहरुको समय नपाएको स्थापितले सुनाए ।

‘म प्रधानमन्त्रीज्यूलाई भेट्न टिचिङ अस्पतालमै पुगेको थिएँ । तर, डा. रविन सायमिले तपाईंहरुले भेट्नुभयो भने उहाँको स्वास्थ्य बिग्रिन्छ, तपाईलाई ज्यानमाराको अभियोग लाग्न सक्छ भन्नुभयो,’ स्थापितले सुनाए, ‘त्यसपछि मैले पनि मेरो समस्या भन्दा प्रधानमन्त्रीको स्वास्थ्य ठूलो कुरा हो भन्ने सोचेर फर्किएँ ।’

आफूले प्रचण्डलाई पनि भेट्ने प्रयास गरेको तर प्रचण्डको सचिवालयले शुक्रबार साँझ मात्रै आउनु भनेको पनि उनले सुनाए ।

‘प्रचण्डज्यूले आज साँझ आउनु भन्नुभएको थियो, दिउसै बर्खास्तीमा परेको समाचार सार्वजानिक भयो,’ उनले भने, ‘अब म प्रधानमन्त्री ओलीलाई भेट्न जान्न उहाँले बोलाएपछि मात्रै भेट्छु ।’

केही दिनपछि आफूले प्रतिक्रिया दिने र आफ्नो प्रतिक्रिया निकै खरो हुने उनले जानकारी दिए ।

‘म एकदुई दिन बोल्दिन, बोलेपछि तीखो र खरो बोल्छु भन्ने तपाईंलाई थाहा नै छ,’ उनले भने, ‘सांसदहरुले पनि त यो विषयमा कुरा उठाउलान् नि ।’

तपाईं र मूख्यमन्त्री पौडेलबीचको खास बिबाद के हो ? भन्ने प्रश्नमा उनले अहिले केही पनि नबोल्ने बताए ।

‘बोल्ने दिन आएपछि बोल्छु,’ स्थापितले भने, ‘निजी काम गर्न नपाएको धेरै भयो, आज त घरमा गएर टिभी हेर्छु, आनन्दले आफैं बर्खास्ती परेको समाचार हेर्छु ।’


पुष्प दुलाल