प्रदेश नं. ३ का मुख्यमन्त्रीले भौतिक पूर्वाधारमन्त्री केशब स्थापितलाई बर्खास्त गरेको पुष्टि, प्रदेश प्रमुखलाई पत्राचार
काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।
मुख्य मन्त्री पौडेललाई अभद्र व्यवहार गरेको भन्दै केहीदिन यता भौतिक पूर्वाधारमन्त्री स्थापित विवादमा मुछिएका थिए । त्यतिमात्रै होइन, स्थापित काठमाडौं महानगरपालिकाको मेयर हुँदा एक महिलामाथि हिंसा गरेको आरोपसमेत लागेको थियो ।
प्रदेश नं. ३ को मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री डोरमणि पौडेललाई अपशब्द प्रयोग गर्दै स्थापितले गालीगलौज गरेका थिए ।
मुख्यमन्त्रीका स्वकिय सचिव अनुप पौडेल र प्रेस सल्लाहकार प्रकाश दाहालले भौतिक पूर्वाधार मन्त्री स्थापितलाई बर्खास्त गरिएको पुष्टि गरे ।
‘संसदीय मूल्य मान्यता अनुसार नचलेको, मुख्यमन्त्रीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेको, विभिन्न विवादमा मुछिएको र आफूले जिम्मा पाएको मन्त्रालयको काम गर्न नसकेको भन्दै मुख्यमन्त्रीज्यूले बर्खास्तीको पत्र प्रदश प्रमुखलाई पठाउनु भएको छ,’ पौडेल र दाहालद्वयले क्लिकमाण्डूसँग भने ।
तत्तकाललाई स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्ने छन् ।
मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरेका हुन् ।