अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्- चीन मलाई चुनाब हराउन लाग्यो



काठमाडौं । आफ्नो दल रिपब्लिकनलाई हराउन चीन लागिपरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्धलाई थप कसिलो बनाएको दावी गरेका छन् ।

चीन र अमेरिका व्यापार युद्धमा आमने-सामने भएको र एकले अर्कोलाई स्वीकार नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

अमेरिकी राष्ट्रपतिले नोभेम्बरमा हुन लागेको अमेरिकी संसदीय चुनावमा चीनले हस्तक्षेप गरिरहेको आरोप लगाएपछि चीनले त्यसको कडा शब्दमा खण्डन गरेको बिबिसिले जनाएको छ ।

आफूले चीनसामु व्यापारमा चुनौती प्रस्तुत गरेकाले बेइजिंगले आफ्नो दल लाई हराउन चाहेको ट्रम्पले बताएका छन् ।

राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक अध्यक्षता गरिरहेका ट्रम्पले चीनले आगामी नोभेम्बरमा अमेरिकामा हुन लागेका चुनावमा हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाएका थिए । चीनले आफू वा आफ्नो दलले जितोस् भन्ने नचाहेको उनले बताएको बिबिसीले जनाएको छ । उनले ती आरोप पुष्टि गर्ने कुनै प्रमाण भने पेस नगरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको भनाइ छ ।

चीनका विदेशमन्त्री वाङ्ग यीले ट्रम्पको उक्त आरोपको निन्दा एवम् खण्डन गरेका छन् । वाङ्गले कुनै पनि देशको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने बताए ।

अमेरिकाले अब चीनलाई पनि रुस, इरान र उत्तर कोरिया सरह अमेरिकी प्रजातन्त्र र स्वतन्त्रताविरुद्ध खतराका रूपमा लिइरहेको ट्रम्पका भनाइले प्रस्ट पारेको देखिन्छ ।

ट्रम्प प्रशासन चीन खासगरि साइबर क्षेत्रमा निकै प्रभावशाली भएको र तिनले विपक्षीलाई गलाउन सक्ने विश्वास गर्छन्। चीनले आफ्नो परम्परागत समर्थक समूह किसानहरूलाई ट्रम्पविरुद्ध भड्काउने प्रयास गरेको उनीहरूको आरोप छ ।

दुई शक्ति राष्ट्रबीच फैलँदो व्यापार युद्धका माझ चीनले भने यी सबै आरोपलाई आधारहीन भन्ने गरेको बिबिसीको विवरणमा उल्लेख छ ।


पुष्प दुलाल