एनटीसीको नयाँ अफरः १८ रुपैयाँमा ७० मिनेटसम्म फोन, म्यासेज वा डेटा जति चलाए पनि पाइने




काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले संविधान दिवसको अबसर पारेर असोज १ देखि १५ गतेसम्म नयाँ योजना ल्याएको छ । यो योजना अनुसार १८ रुपैयाँको प्याक खरिद गर्नेले खरिद गरिएको समयदेखि ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (अनलिमिटेड) कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाउने छन् ।

संविधान दिवसको अबसर पारेर यस्तो प्याकेज ल्याइएको टेलिकमकी प्रवक्त प्रतिभा बैद्यले जानकारी दिइन् ।

‘तपाइले यो प्याक २ बजे लिनुभयो भने त्यसको ७० मिनेट अर्थात ३ बजेर १० मिनेट जादासम्म टेलिकमका नेटवर्क भित्र जति पनि फोन गर्न, एसएमएस गर्न वा डेटा चलाउन पाउनु हुन्छ, यी यही प्याकबाट तपाइले यी तीनवटै सेवा प्रयोग गर्न पनि पाउनु हन्छ,’ बैद्यले स्पष्ट पार्दै भनिन् ।

नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर पनि लागू गर्ने भएको छ ।

कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको प्रवक्ता बैद्यको भनाइ छ ।

पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुने टेलिकमको भनाइ छ ।

नयाँ ब्यवस्था अनुसार ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यसअघि यसको शुल्क प्रतिमहिना १ हजार ८ सय रुपैयाँ थियो ।

त्यसैगरी १ देखि १० एमबीपीएसको प्रतिएमबीपीएस २७ सय रुपैयाँ कायम गरिएको छ । यसअघि यस्तो दर ३२ सय रुपैयाँ थियो । यस्तै ११ देखि १०० एमबीपीएसकोप्रति एमबीपीएस २४ सय बनाइएको छ । यसअघि यस्तो दर २८ सय रुपैयाँ थियो । टेलिकमले १०० एमबीपीए भन्दा माथिको महसुल दर प्रतिएमबीपीएस २१ सय रुपैयाँ तोकेको छ । यसअघि यस्तो दर २५ सय रुपैयाँ थियो । यी दरहरुमा थप कर लाग्ने टेलिकमको भनाइ छ ।

त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ ।

सो अनुसार ब्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ ।

त्यसैगरी २ एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।

१ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने टेलिकमको भनाइ छ ।

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगल सहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १ बर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यस अन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइने टेलिकमले बताएको छ ।


क्लिकमान्डु