भारतबाट फर्केपछि प्रचण्डले भने- वृद्ध भत्ता बढाउन सरकारले पूरक बजेट ल्याउन सक्छ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वृद्धभत्ता बढाउन लगायतका आम नागरिकबाट आएका सुझाब तथा सल्लाहलाई आत्मसाथ गर्दै पूरक बजेट ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

भारत भ्रमणबाट फर्केर त्रिभुन अन्तर्राष्ट्रिय बिनानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘सामाजिक सुरक्षा भत्तालगायतका विषयमा आम नागरिकको तर्फबाट प्राप्त भएको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै पूरक बजेट ल्याउने विषयमा सामान्य चर्चा परिचर्चा भएको छ,’ प्रचण्डले भने, ‘विशेषगरी वृद्धभत्ताका विषयमा सम्बोधन गर्न सरकारले त्यस्तो व्यवस्था गर्न सक्छ, त्यो सरकारको राजनीतिक र संवैधानिक अधिकार हो ।’

भारत भ्रमण सफल र फलदायी

‘प्रचण्डले नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्नो भ्रमण सफल भएको दाबी गरे ।

‘विगतमा प्रधानमन्त्रीस्तरमा भएको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन यस पटकको भ्रमण सफल र फलदायी भएको छ,’ उनले भने ।

सरकारले गरेको समझदारी कार्यान्वयन गराउन मात्रै आफ्नो भ्रमण केन्द्रित रहेको उल्लेख गर्दै उनले विकासनिर्माणका कामलाई प्रभावकारी बनाउन आफू लागिपरेको बताए ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, नेपालको भौतिक पूर्वाधारमा लगानी बढाउने, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी बढाउने लगायत विषयमा भ्रमणमा क्रमममा महत्वपूर्ण छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।

यस्तै भ्रमणका क्रममा संविधान कार्यान्वयन तथा सरकारले आत्मसात् गरेको आर्थिक समृद्धिको लक्ष्यलाई साकार बनाउनका लागि भारतको उच्च राजनीतिक नेतृत्वसँग छलफल भएको उनको भनाइ थियो ।

विकासनिर्माणका क्रममा आपसी सहयोगलाई वृद्धि गर्दै जाने विषयमा भारतीय नेतृत्वसँग विस्तारमा छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने ‘नेपालको समृद्धि र विकासका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्व र बुद्धिजीवीसँग छलफल भयो । यसले मलाई उत्साहित बनाएको छ ।’

दुई तिहाइ प्राप्त सरकारको पक्षमा वातावरण बनाउन आफू भारत भ्रमणमा गएको स्पष्ट पार्दै अध्यक्ष दाहालले भने ‘नेपाली जनताको चाहनाजस्तै भारत सरकार र भारतीय जनताको चाहना पनि नेपाल स्थिर र आर्थिक रूपमा सबल बनोस् भन्ने रहेको मैले पाएँ ।’

यस्तै भूकम्पपछिको पुनःनिर्माण, हुलाकी राजमार्गको निर्माण, पछिल्ला दिनमा भएका महत्वपूर्ण सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा केन्द्रित रहेर सहयोग उपलब्ध गराउन आफूले भारतीय नेतृत्वसँग आग्रह गरेको अध्यक्ष दाहालले जानकारी दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्न आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको र त्यसमा आफू सफल भएको बताए । रासस


पुष्प दुलाल