यो पटकको ‘नाडा अटो शो’मा बैंक र बीमाको स्टल नहुने, विद्युतीय सवारी मूख्य आकर्षण



काठमाडौं । यसपालीको ‘नाडा अटो शो’मा यसपाली बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको स्टन नरहने भएको छ । अटो व्यवसायीहरुको कुम्भ मेला मानिने नाडा अटो शोमा पहिलोपटक बैंक र बीमा कम्पनीको स्टल नरहने भएको हो ।

अटो व्यवसायीहरुलाई नै स्टल नपुगेका कारण बैंक र बीमालाई छुट्टै स्टल दिन नसकिएको नाडाका उपाध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।

‘स्टल अभावका कारण बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई छनोट गर्न नसकिएको हो । यो पटक अटोमोबाइल्ससँग सम्बन्धित कम्पनी मात्र सहभागी हुने छन्,’ उपाध्यक्ष दुलालले क्लिकमाण्डूसँग भने, ‘बैंक र बीमा कम्पनीले मेलामा सहभागी नभए पनि बाहिरबाट नै सेवा दिनेछन् ।’

यही भदौ २६ देखि ३१ गतेसम्म राजधानीमा नाडा अटो शो हुँदैछ । यो पटक १९ वटा चारपांग्रे र २० वटा दुईपांग्रे र ३२ वटा अरु कम्पनीहरु सहभागी हुने छन् । ७१ वटा कम्पनीको १३१ वटा स्टल रहने दुलालले जानकारी दिए ।

‘सबै कम्पनीको केही नयाँ प्रोडक्ट हुने छ, नाडा अटो शो मा अटोमोबाइल्सँग सम्बन्धित प्रोडक्ट लन्च हुने भएको हुँदा नयाँ हुन्छ, त्यही भएर यो अरु शो जस्तो होइन, किनभने यसमा जहिलेपनि नयाँ प्रोडक्ट आउने छ,’ उनले भने ।

हरेक वर्ष भदौ मसान्तसँगै दशैंको माहोला शुरु हुन्छ । यो बेला सवारी साधन खरिद गर्नेहरु बढी हुने भएकाले दशैंअघि अटो शोको आयोजना गरिएको उनको भनाई थियो ।

‘यो पटकको नाडा अटो शो को विशेष आकर्षण विद्युतीय सवारी साधन हो, दुई/तीनवटा कम्पनीले विद्युतीय गाडी ल्याइसकेका छन्, अरु दुईतीनवटा कम्पनीले ल्याउने तयारी गरेका छन्,’ उनले भने ।

भारत लगायत अन्य देशका कम्पनीबाट विदेशी लगानीकर्ताका प्रतिनिधिपनि यो मेलामा सहभागी हुन आउने छन् ।

नाडा अटो शोमा छुट बढी हुन्छ । कम्पनीहरुले विभिन्न खालका स्किम ल्याएका हुन्छन् ।

आयोजकले यो पटकको अटो शोमा ५ अर्ब रुपैयाँ बराबरका गाडी बुकिङ हुने अपेक्षा गरिएको उनले जानकारी दिए । गत वर्ष साढे ३ अर्ब रुपैयाँको कारोबार भएको थियो । ६० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने अनुमान हाम्रो छ ।


पुष्प दुलाल