चन्द्रसिंह साउदले गुहारे सर्बोच्च अदालत
काठमाडौं । मन्त्रीपरिषदले आफूलाई गैरकानूनीरुपमा हटाइएकाले आफ्नो पुनर्बहालीको माग गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट निवर्तमान महाप्रबन्धक चन्द्रसिंह साउदले सर्बोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
केही दिनअघिको मन्त्री परिषदको बैठकले साउनलाई हटाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओलीको सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा गरिएका नियुक्तीहरु धमाधम खारेज गरिरहेको छ ।
नेप्से महाप्रबन्धक साउदलाई हटाएर सरकारले अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई तत्कालका लागि नेप्सेको महाप्रबन्धकको जिम्मा दिएको छ ।
साउदले असार २७ गते सर्बोच्च अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।
‘धितोपत्र ऐन अन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट मलाई ४ वर्षका लागि सरकारले नियुक्ति गरेको हो,’ साउदले क्लिकमाण्डूसँग भने, ‘यो राजनीतिक पद नभइ प्रशासनिक पद हो, त्यसैले यो सरकारको मलाइ हटाउने गैरकानूनी निर्णय बिरुद्ध न्याय माग्दै सर्बोच्च अदालत पुगेको हुँ ।’
सम्माननीय अदालतले न्याय दिलाउनेमा आफू विश्वस्त भएको उनले जानकारी दिए ।
आजसम्म नियुक्ती उल्ट्याउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नू भनेर सर्बोच्चले ४ वटा स्टे अर्डर दिइसकेको छ ।