निजगढ एयरपोर्ट निर्माणस्थलको सबै रुख एकैपटक नकाटिने



काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलमा फैलिएको घना जंगल पुरै एक पटकमा फडानी नगर्ने भएको छ ।

नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमका अनुसार पहिलो चरणमा विमानस्थल निर्माण स्थलको १८ वर्ग किलो मिटर क्षेत्रेको मात्रै रुख फडानी हुने भएको छ ।

विमानस्थल निर्माणमा ८० वर्गकिलो मिटर आवश्यक पर्ने भएपनि पहिलो चरणमै सबै जंगल फडानी नहुने उनको भनाइ छ ।

‘निर्माण स्थलमा विमानस्थलसँग जोडिएका संरचना भन्दा अन्य केही बन्दैन’, गौतमले भने, ‘विस्तार आवश्यकता अनुसार रुख फडानी हुन्छ ।’

तर, निर्माण चरणमा आवश्यक काममा लागि सरकारले एकैपटकको आवश्यक सबै ठाउँको रुख कटानीदेदि विमानस्थल निर्माणपछिको फाइदा र वेफाइदाको अध्ययन गर्दै वातावरणीय प्रभाव मूल्यांकन रिर्पोट तय गरेको हो । सोही आधारमा वातावरणीय मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेद स्वीकृत गरेको गौतम बताउँछन् ।

फेरि कोरिएन कम्पनी एलएम डब्लुले गरेको सम्भाव्यता अध्ययन रिपोर्टका हवाई सीटी समेत परिकल्पना भएको छ । सरकाले पहिलो चरणमा विमानस्थल निर्माण मात्रै गर्ने तयारी गरेको छ ।

तर, हवाई सिटीको विस्तारै काम हुँदै जाने गौतमको भनाइ छ । ८० वर्ग किलो मिटर क्षेत्रफलमा निर्माण हुने विमानस्थल निर्माण स्थलमा २४ लाख रुख कटानी गर्नुपर्ने हुन्छ । २४ लाखभन्दा बढी रुख कटानीका लागि भने क्याविनेटस्तरीय निर्णय आवश्यक पर्छ । विमानस्थल निर्माण हुने ठाउँमा करिब १० हजार बिघामा जंगल फैलिएको छ ।

विमानस्थल निर्माणस्थलमा रहेको जंगल फँडानीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौमा नेपाल आर्मीसँग सम्झौता गरिसकेको छ ।

प्राधिकरणले जंगल फडानी र पहुँच मार्ग निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरे पनि वातावणीय प्रभाव मूल्यांकन प्रतिवेदन समयमै स्वीकृत हुन नसक्दा अगाडि बढेको थिएन । वन तथा वातवारणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिसँगै यो काम अब अगाडि बढने गौतम बताउँछन् ।

सबैभन्दा पहिले विमानस्थल निर्माण डिजाइन तथा डीपीआर तयार गर्नुपर्ने हुन्छ । आयोजनाले डीपीआर निर्माणका लागि २०७३ फागुनमा गरेको प्रस्तावमा आशयपत्र दिने २२ वटा कम्पनीको मूल्यांकन गर्दै ६ वटा छनोट गरेको थियो । ती ६ वटा कम्पनीसँग अहिले पुनः आर्थिक तथा प्राविधिक पक्षमा प्रस्ताव माग भइसकेको छ ।

यी सबै काम भइरहँदा सरकारले विमानस्थल कुन मोडालिटीमा निर्माण गर्ने हो भनेर निक्र्यौल गर्नुपर्ने हुन्छ । विमानस्थल भवन निर्माण थाल्न अझै दुई वर्षभन्दा बढी लाग्छ ।

तर, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिले पुर्नवास गरिनुपर्ने १४ सय ३९ घरपरिवारको स्थानान्तरणदेखि स्थान खुला गर्नेकाम अगाडि बढने गौतम बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण यो विमानस्थल निर्माण गर्न एक खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान समेत गरेको छ ।


पुष्प दुलाल