सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान



काठमाडौ । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम) सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले २ करोड ५० लाख रुपैयाँको अनुदान पाएको छ ।

दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात् गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी–बुकिङ डटकमले बुकिङ बुस्टर कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध गराएको हो ।

विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै नेपाललाई (युरो २२५,०००) राशिको अनुदान प्रदान गरेको सञ्जालका संस्थापक शिवप्रसाद ढकालले जानकारी दिए ।

समुदायमा आधारित दिगो पर्यटन विकासमा योगदान गरेबापत यस क्षेत्रमा नेपालले पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय योगदान हो ।

बुकिङ डटकमले पर्यटकीय गन्तव्यहरुमा अधिक पर्यटकीय चाप न्यूनीकरण गर्न तथा वातावरणीय एवं सामाजिक पक्षलाई सकारात्मक प्रभाव पर्नेगरी स्थानीय समुदायको स्तरोन्नति र समृद्धिका लागि क्रियाशील रहेका विश्वसमुदायबाट आमन्त्रित १० कम्पनीलाई करीब २० लाख युरोबराबरको राशि अनुदान उपलब्ध गराएको थियो ।

बुकिङ डटकम विश्वको तेस्रो ठूलो अनलाइन बजार क्षेत्र हो । पहिलो अमेजन डटकम र दोस्रोमा अलिबाबा डटकम पर्छन् ।

यस अतिरिक्त ‘एमाजोन वेब सर्भिसेस’ ले कम्युनिटी होमस्टेको अभ्यास एवं सेवालाई प्रवद्र्धन गर्न क्रेडिट एण्ड सपोर्टजस्ता एमाजोन अनलाइन सेवा तथा स्रोत उपलब्ध गराउने भएको छ ।

सानो लगानीमा आफ्नै घरमा पाहुनालाई स्थानीय परिकारको साथ सत्कार गर्ने नेपाली प्रचलन अर्थात् होमस्टेले विदेशी पर्यटकको मन जित्न थालेको छ । फरक स्वाद तथा उत्कृष्ट सेवा सुविधाको खोजीमा पर्यटकलाई नेपालका मौलिक होमस्टेले सुविधा दिने गरेका छन् । होमस्टेमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्दो छ ।

आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार चालू आवको आठ महिनासम्ममा नेपालमा २ सय ५१ सामुदायिक होमस्टे सञ्चालनमा छन् ।


पुष्प दुलाल