अब स्वीच अफ भएको मोवाइलमा फोन आएको पनि थाहा हुने, एनटीसीले ल्यायो छुटैछुटको वर्षा



काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले जेठ १५ गतेदेखि यो सेवा फेरि सञ्चालनमा ल्याउने भएको छ ।

जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुने छ । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउने छ ।

सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले sub mca ब लेखेर १४०० मा एसएमएस गर्ने वा *1400#  डायल गर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ ।

यस्तै गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै १ घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् ।

प्रयोगकर्ताले १ घण्टासम्म कम्पनीको नेटवर्कभित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् ।

१२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

अनलिमिटेड प्याक र एसएमएस प्याक आज (जेठ १४ गते) देखि आगामी जेठ २८ गतेसम्म खरिद गर्न सकिने छ । प्याकेज खरिद गर्नका लागि *1415*8# डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने छ ।


पुष्प दुलाल