नेपाल टेलिकमले ९ महिनामै ११ अर्ब नाफा कमायो



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीले ४.२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनील सार्वजनिक गरेकोे गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ ।

प्राप्त विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार रुपैयाँ र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा बिक्रीबाट रु २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार आम्दानी गरेको थियो ।

उक्त कम्पनीको चुक्ता पूँजी ५ अर्ब छ । जगेडा कोषमा रु ७९ अर्ब ६९ करोड पाँच लाख १५ हजार जम्मा भएको छ । कम्पनीको प्रति शेयर आम्दानी १०५.३९ रुपैयाँ छ ।

हाल सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ । साथै कम्पनीले हालको तीव्र प्रतिस्पर्धात्मक दुरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचिअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेज ल्याउनुका साथै समयानुकूल शुल्कमा परिमार्जन गर्दै आएको छ ।


पुष्प दुलाल