मोदीले संसदमा गरेको टेलिफोन शुल्क घटाउने घोषणा अझै अलपत्र
काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएलगत्तै नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन संविधानसभाको (संसद) बैठकमा सगौरव घोषाण गरेका थिए- ‘भारतबाट नेपालमा फोन गर्दा लाग्ने महंगो शुल्क तत्काल घट्छ ।’
तत्कालीन संविधानसभाका सदस्यले मच्ची-मच्ची टेबल ठोके । र मोदीको समर्थन जनाए । भारतमा रोजगारीको खोजीमा पुगेका नेपालीको संख्या ३० लाखको हाराहारीमा छ ।
रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य पनि हो भारत । मध्यपश्चिम र सुदूरपश्चिममा धेरैजसो युवा रोजगारीको खोजीमा भारत पुग्ने गरेका छन् । नेपालका अन्य क्षेत्रका नागरिक पनि रोजगारीको लागि भारतका विभिन्न शहरमा कार्यरत छन् ।
उनीहरुले घर परिवारमा सम्पर्क गर्न असाध्यै गाह्रो हुने गरेको छ । जसकारण मोदीको उक्त घोषणाले लाखौं नेपाली हर्षित थिए ।
तर, मोदीको सो घोषणा व्यवहारिक रुपमा लागू हुन सकेन । भारतबाट नेपालमाम फोन गर्दा मोबाइलबाट गर्दा प्रतिमिनेट १२ रुपैयाँ भारतीय मुद्रा लाग्ने गरेको छ भने ल्याण्डलाइनबाट गर्दा १० रुपैयाँ भारतीय मुद्रा लाग्ने गरेको छ ।
संविधानसभामा सम्बोधन गर्दै मोदीले भारतबाट नेपाल फोन गर्दा लाग्ने शुल्क घटाउने वाचा गरेका थिए । फेरि मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउन लागेका छन् । तर यस विषयमा कहीँ कतै पनि चर्चा भएको पाइएको छैन । गत चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री केपी ओलीले भारतको भ्रमण गरे । सो भ्रमणमा समेत टेलिफोन शुल्कका बारेमा कुनै कुराकानी भएन ।
भारतमा रोजगारी गरिरहेका, अध्ययनमा गएका विद्यार्थीका अनुसार अहिले पनि भारतबाट नेपाल फोन गर्दा ८ देखि १२ भारुकै पुरानै दर रहेको छ । त्यसलाई घटाउने भनेर उनले दिएको वाचा पूरा हुन सकेको छैन ।
नेपालबाट भारतमा फोन गर्दा प्रतिमिनेट अधिकतम साढे २ रुपैयाँमात्रै लाग्ने गरेको छ । फोन शुल्क घटाउने बारे यस पटकको भ्रमणमा कुरा होला त ? भन्ने प्रश्नमा सञ्चार मन्त्रालयका एक अधिकारी भन्छन्, कार्यसूचीमा नै सो एजेण्डा छैन, कसरी होला कुरा ? उनले उल्टै प्रतिप्रश्न गरे ।
नेपाल टेलिकमले समेत टेलिफोन महसुलका बारेमा कुनै कुराकानी हुने बारेमा आफूहरुलाई कुनै जानकारी नभएको जनाएको छ ।