हामी छक्कापञ्जा जान्दैनौंः सेञ्चुरी बैंकका सीइओ तुलसीराम गौतमको अन्तर्वार्ता



तुलसीराम गौतम, प्रमुख कार्यकारी अधिकृत, सेञ्चुरी कमर्शियल बैंक

तुलसीराम गौतमसँग बैंकिङको लामो अनुभव छ । ३४ वर्षअघि नेपालकै जेठो नेपाल बैंकबाट करियर शुरु गरेका गौतमसँग तत्कालीन नेपाल इन्डोस्वेज बैंक, एसबिआइ बैंक, माछापुच्छ्रे बैंकमा काम गरिसकेका छन् । डेढ वर्षअघि माछापुच्छ्रे बैंकबाट राजिनामा दिएर क्रेडिट रेटिङ कम्पनीमा काम गरेका उनी हालैमात्र कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम शुरु गरेका छन् । पछिल्लो समय बैंकिङ इन्ड्रस्टीमा विभिन्न किसिमका चुनौतिहरु देखिएका छन् । नयाँ बैंकमा लगानी गर्ने लगानीकर्ताले राम्रो प्रतिफलसमेत पाउन सकेका छैनन् । जसकारण नयाँ बैंकको व्यवस्थापनलाई लगानीकर्ताको दबाब तीब्र छ । गौतमको कार्यकालमा लगानीकर्ताले कति प्रतिफल पाउलान् ? उनको आफ्नो कार्यकालमा सेञ्चुरी बैंकलाई कस्तो बन्ला ? यस्तै विषमा केन्द्रित रहेर क्लिकमाण्डूले गरेको कुराकानीः

डेढ वर्षपछि फेरि सक्रिय बैंकिङमा फर्किनुभयो, अन्यत्रभन्दा बैंकको सीइओमा नै चार्म छ हो ?

माछापुच्छ्रे बैंक छाडेको डेढ वर्ष भयो । यसबीचमा क्रेडिट रेटिङ कम्पनीमा काम गरेँ । अहिले फेरि बैंकको सीइओ बनेर सक्रिय बैंकिङमा फर्किएँ । चार्म भन्दा पनि केही गर्न सकिन्छ भन्ने अपेक्षा बोकेर एक्टिभ बैंकिङमा फर्किएको हुँ ।

नेपालकै सबैभन्दा जेठो नेपाल बैंकबाट बैंकिङ करियर गर्नुभयो । र, त्यसपछि २०औं वर्ष पूराना बैंकमा काम गर्नुभयो । अहिले कान्छो बैंकको सीइओ गरेको अनुभव छ, अबसर चाहिँ के देख्नुभयो ?

सन् १९८२ मा नेपाल बैंकबाट मैले बैंकिङ करियर शुरु गरेको थिएँ । त्यसपछि तत्कालीन इन्डोस्वेज अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेँ । इन्डोस्वेज विदेशी संयुक्त लगानीमा आएको निजी क्षेत्रको बैंक थियो । त्यसपछि नेपाल एसबिआइ बैंकमा काम गरेँ । र, एसबिआइपछि माछापुच्छ्रे बैंकमा सीइओ भएर काम गरेँ । यी सबै २०औं वर्ष पहिलेदेखि सञ्चालनमा आएका बैंक हुन् । अहिले सेञ्चुरी बैंकमा आएको छु । यो सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कान्छो बैंक हो ।

मेरो कार्यकालभरीमा यो बैंकलाई सबै सूचकहरुमा टप १५ बैंकभित्र पार्नसक्छु भन्ने लागेको छ । कम्प्लाइन्समा बेस्ट बैंक बनाउँछु । त्यस्तै, सर्भिस क्वालिटीमा सेञ्चुरी बैंकले कुनै पनि कम्प्रमाइज गर्दैन । हामी छक्कापञ्जा र ढाँटछल जान्दैनौं । बजारमा राम्रो इमेज बनाउँछौं ।

केही समयअघि सम्म पुँजीको आकारका आधारमा पनि सेञ्चुरी बैंक साथै थियो । राष्ट्र बैंकको पुँजी बढाउने नीति लिएपछि यो बैंकले आफूभन्दा साना संस्थाहरुलाई गाभेर, बोनस सेयर दिएर र हकप्रद सेयर जारी गरेर पुँजीको आकार ठूलो बनाएको छ । अहिले यो बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेअनुसार ८ अर्ब रुपैयाँ पुगिसकेको छ । ५२ अर्ब निक्षेप र ५० अर्ब कर्जा छ । पुँजी बढेसँगै कर्जा विस्तार गर्नसक्ने क्षमता पनि बढेको छ । निक्षेपको आकार पनि बढेको छ । अहिले १११ वटा शाखा छन् । यो आर्थिक वर्षभित्र १२० बढी शाखा हुन्छन् । कान्छो बैंक हुँदाहुँदै पनि शाखा सञ्जालका हिसाबले यो बैंक निकै अघि छ । अन्य सूचकांकका हिसाबले २३/२४औं नम्बरमा पर्छ । यी सबै हिसाबलाई हेर्दा यो बैंकमा केही गरेर देखाउन सकिन्छ भन्ने लाग्यो । त्यसैले सीइओको जिम्मेवारी लिन तयार भएँ ।

चुनौति चाहीँ देख्नुभएको छैन ?

निश्चय पनि कुनैपनि ठाउँमा अबसरै अबसर मात्रै हुँदैनन् । जहाँ अबसर हुन्छ, त्यहाँ चुनौति हुन्छ नै । मैले यो बैंकमा चुनौतिभन्दा बढी अबसर देखेको छु । सेञ्चुरी बैंकका सबै वित्तीय सूचकांकहरु सकरात्मक छन्, यसलाई अझै मजबुत बनाउँदै लानुपर्ने चुनौति मेरा सामू छ नै । मूख्य कुरा के हो भने यो बैंक अझै पनि ब्राण्डको रुपमा स्थापित भइसकेको छैन । मैले आफ्नो कार्यकालमा सेञ्चुरीको ब्राण्ड स्थापित गराउनू छ । कष्ट अफ फण्ड अलि बढी छ । यो चुनौति हो । तर बैंकको निष्क्रिय कर्जाको अवस्था निकै राम्रो छ । अहिले पनि बैंकले प्रवाह गरेको कूल कर्जामध्ये ०.७५ प्रतिशत मात्रै निष्क्रिय कर्जा छ । यो अवसर हो । अर्को कुरा राम्रो कमाइ राम्रो छ । यो सकरात्मक पक्ष हो ।

पछिल्लो पुस्ताका बैंकहरुलाई पूराना बैंकहरुसँग खरो प्रतिस्पर्धामा उत्रिएर अघि बढ्न कतिको चुनौतिपूर्ण देख्नुहुन्छ ?

नयाँ हुँदैनमा कमजोर र पूरानो हुँदैमा बलियो भइन्छ भन्ने होइन । बैंकिङ बिजनेशमा नयाँ र पूरानो भन्नेले त्यति ठूलो अर्थ राख्दैन । समस्या पर्दा सबैलाई पर्छ । तरलता अभावकै उदाहारण लिऔं न नयाँ बैंकलाई मात्रै तरलता अभाव भएन, पूराना र ठूला भनिएका बैंकहरुलाई पनि तरलता अभाव भयो । किनभने सिस्टममै तरलता थिएन ।

सेञ्चुरी बैंकले यो वर्ष कति नाफा कमाउला ?

बैंकले चैत मसान्तसम्मा ६३ करोड रुपैयाँ नाफा कमाएको छ । असार मसान्तसम्ममा ८०/८५ करोड रुपैयाँ कमाउला ।

८ अर्ब चुक्ता पुँजी छ । ८० करोड करोड नफा कमाएर लगानीकर्तालाई कति रिटर्न दिने नि ?

पुँजी वृद्धिको नीतिपछि एक वर्ष त मर्जरको जोडी खोज्दा खोज्दै बित्यो । पछिल्लो वर्षदिन यतामात्रै ह्वात्तै पुँजी बृद्धि गरिएको छ । जसकारण पनि पुँजी वृद्धि अनुसार नाफा कम बढेजस्तो देखिएको हो । २/३ अर्ब पुँजी भएको बैंक हुँदा त ८०/८५ करोड रुपैयाँ नाफा कमाउँदा २०/२५ रिटर्न दिन सकिन्थ्यो नि । बैंकको कमाइ भनेको ऋणको ब्याजबाटै हो । जसरी एक वर्षमा ३/४ गुणाले पुँजी बढेको छ, त्यसरी नै बिजनेश बढेको छैन । यसरी बढ्दैन । र, बढ्ने अवस्था आए पनि बढाउनु हुँदैन पनि । ८ अर्ब पुँजीलाई अबको २ वर्षपछि उपयुक्त रिटर्न दिने अवस्थामा पुग्छौं । र, बैंकले १५/२० प्रतिशत लाभांस दिनु नराम्रो होइन ।

खासगरी चुक्ता पुँजी वृद्धि गरेपछि लगानीकर्ताहरुले व्यवस्थापनलाई तीब्र दबाब दिइरहेका छन् । लगानीकर्ताकै दबाबका कारण भेट्रान बैंकरहरुले पनि जागिर छाडिरहेका छन् । तपाईं यो अवस्था कसरी फेस गर्नुहुन्छ ?

सामान्य लगानीकर्ताले सीधै सीइओलाई दाब दिने कुरा हुँदैन । लगानीकर्ताले सञ्चालक समितिमार्फत यस्ता दबाबहरु दिन सक्छन् । लगानीकर्ताले नाफाका लागि दबाब दिनुलाई मैले अस्वभाविक मान्दिन । किनभने व्यवस्थापनलाई कतैबाट पनि दबाब भएन भने उसले काम गर्दैन । खाली कस्तो र कुन हदसम्मको दबाब दिने भन्ने मात्रै हो । जहाँसम्म लगानीकर्ताको दबाबका कारण केही बैंकरले जागिर छाडे भनेर भन्नुभयो । तपाईंको भनाई शतप्रतिशत सत्य नहोला । तर, कुनै हदसम्म अवश्य पनि सत्य हुनुपर्छ । हामीले त्यसरी मात्रै पनि हेर्नु हुँदैन । २८ बैंकका सीइओमध्ये १८/२० वटा बैंकका सीइओले त जागिर छाडेका छैनन् नि । अनावश्यक दबाब हुन्थ्यो भने उनीहरुले पनि छाड्नुपर्ने होइन र ?

तपाईंले आफ्नो कार्यकाल पूरा गर्दा बैंकलाई कस्तो बनाउनुहुन्छ ?

मेरो कार्यकालभरीमा यो बैंकलाई सबै सूचकहरुमा टप १५ बैंकभित्र पार्नसक्छु भन्ने लागेको छ । कम्प्लाइन्समा बेस्ट बैंक बनाउँछु । त्यस्तै, सर्भिस क्वालिटीमा सेञ्चुरी बैंकले कुनै पनि कम्प्रमाइज गर्दैन । हामी छक्कापञ्जा र ढाँटछल जान्दैनौं । बजारमा राम्रो इमेज बनाउँछौं ।


पुष्प दुलाल