नेपाल लाइफको ४२% बोनस पारित, सर्वसाधारणको शेयर बढ्यो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले प्रस्ताब गरेको ४२ प्रतिशत लाभांस पारित भएको छ । बुधबार बीरगञ्जमा सम्पन्न कम्पनीको १८औं वार्षिक साधारणसभाले ४२ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर २८.५३ रुपैयाँ (कर सहित) वितरणको प्रस्ताव पारित गरेको हो ।

बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६४८ रुपैयाँ हुनेछ । नेपालमा भएका बीमा कम्पनीहरुमध्ये सबैभनदा बढी चुक्ता पुँजी हुने कम्पनी हो, नेपाल लाइफ ।

त्यसैगरी, साधारणसभाले कम्पनीको अधिकृत पुँजी ८ अर्ब कायम गर्ने प्रस्ताव पारित भएको छ ।

साधारणसभामा उपस्थित शेयरधनीहरुलाई कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी दिए । साथै उनले बिद्यमान शेयर स्वामित्वमा सर्वसाधारण समुहमा शेयर संरचनामा बृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण शेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने बिश्वास व्यक्त गरे ।

सभाले आर्थिक वर्ष २०७३÷०७४ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह बिवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु स्वीकृत गरेको छ ।

त्यस्तै, कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको बिद्यमान ७०ः३० अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६०ः४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको प्रमुख कार्यकारी अधिकृ विवेक झाले जानकारी दिए ।


पुष्प दुलाल