लोबुचेमा अल्टिच्यूड एयर दुर्घटना ‘ह्वाइट आउट’ले निम्त्याएको अनियन्त्रण: प्रतिवेदन

168
Shares

काठमाडौं। सोलुखुम्बुको लोबुचेमा गत अक्टोबर २९ (२०८२ कात्तिक १२) मा भएको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाको कारण ह्वाइट आउट (भुँइको सुक्खा हिउँ उडाउँदा) निम्त्याएको अनियन्त्रण भएको उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको उक्त अल्टिच्यूड एयर दुर्घटना जाँच प्रतिवेदनको हेलिकप्टर अवतरणका क्रममा सिर्जना भएको ह्वाइट आउट र त्यसपछि हेलिकप्टर अनियन्त्रण हुँदा दुर्घटना भएको उल्लेख छ ।

ह्वाइट आउटपछि पाइलटले गरेको ओभरकरेक्सन दुर्घटनाको कारण भएको उल्लेख छ । सन् २०२५ अक्टोबर २९ मा लुक्लाबाट सगरमाथा आधार सिविर नजिक लोबुचेमा पर्यटक उद्धारका लागि उडेको अल्टिच्यूड एयरको कलसाइन ९एन–एएमएस हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

उक्त हेलिकप्टर हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकोप्टरको पङ्खाबाट निस्किएको हावाले भुँइको हिउँ उडाउँदा भएको परिस्थिति देखिएको दुर्घटना जाँच आयोगको प्रतिवेदनले उल्लेख गरेको छ । यसले गर्दा पाइलटले बाहिरी दृश्यका आधारमा हेलिकोप्टरको स्थिति ठम्याउन सकेनन् ।

सोही समयमा हेलिकोप्टर अवतरण गर्दा स्किड (भुइँमा अडिने स्याण्ड)असमान सतहमा परेर हेलिकोप्टर ढल्किन खोज्दा त्यसलाई नियन्त्रणमा लिन पाइलटले दिएको प्रयाससँगैआवश्यकभन्दा बढी बल (ओभरकरेक्सन) हुन पुग्यो । यही ओभरकरेक्सनका कारण हेलिकोप्टरको मुख्य पङ्खा (मेन रोटर) जमिनमा ठोकिएर हेलिकोप्टर पल्टिएको प्रतिवेदनमा उल्लेख छ।

दुर्घटना हुनुमा अन्य ६ वटा सहायक कारणहरूलाई पनि प्रतिवेदनले ‍औंल्याएको छ । प्रतिवेदनमा हेलिप्याडमा अवतरणका लागि कुनै पनि भिजुअल मार्कर वा संकेतहरू नहुनु, हिउँले ढाकिएको र ढुङ्गाले मिलाइएको हेलिप्याडको सतह असमान हुनु, अवतरणका क्रममा सहयोग गर्ने कुनै पनि कर्मचारी उपस्थित नहुनु, लुक्ला बेसमा कम्पनीका जिम्मेवार अधिकारी नहुँदा उडानअघि पाइलटलाई पर्याप्त ब्रिफिङ र जोखिम विश्लेषण नगर्नु पनि दुर्घटनाको कारण भएको उल्लेख छ ।

प्रतिवेदनले दुर्घटनामा हेलिकोप्टरको पुच्छरको भाग छुट्टिएको र ठूलो भौतिक क्षति भएको भए पनि पाइलट भने सुरक्षित रहेको जनाएको छ। भविष्यमा यस्ता दुर्घटना रोक्न आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर कम्पनीहरूलाई ९ बुँदे सुरक्षा सुझाव दिएको छ।

उच्च हिमाली क्षेत्रका हेलिप्याडहरूमा अनिवार्य रूपमा स्पष्ट देखिने मानक संकेत चिन्हहरू राख्न, हिउँमा अवतरण गर्दा अपनाउनुपर्ने सावधानीबारे थप तालिम दिन र हरेक उडानअघि अनिवार्य जोखिम मूल्याङ्कन गर्न भनिएको छ। यो प्रतिवेदन २३ मार्च २०२६ मा औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

जाँचबुझ आयोगका निष्कर्षहरू

१. दुर्घटनामा परेको हेलिकोप्टर प्राविधिक रूपमा उडान योग्य रहेको र यसमा कुनै पूर्व-प्राविधिक समस्या नभएको।
२. उडान भर्नुअघि लुक्ला बेसमा कुनै पनि औपचारिक जोखिम मूल्याङ्कन नगरिएको।

३. उडान टोलीलाई गन्तव्यको मौसम र हेलिप्याडको अवस्थाबारे पर्याप्त जानकारी दिइएको थिएन।

४. लोबुचेको हेलिप्याडमा अवतरणका क्रममा दिशा देखाउने कर्मचारी वा ग्राउण्ड सपोर्टको अभाव रहेको।

५. हेलिप्याड ताजा हिउँले पुरै ढाकिएको र त्यहाँ कुनै पनि मानक संकेत चिन्हहरू नभएको।

६. हेलिकोप्टरको पङ्खाबाट निस्किएको हावाले भुईँको हिउँ उडाउँदा सिर्जना भएको ‘ह्वाइट आउट’ ले गर्दा पाइलटले बाहिरी दृश्यका आधारमा हेलिकोप्टरको स्थिति ठम्याउन नसकेको।

७. दुर्घटनापछि हेलिकोप्टरमा आगलागी नभएको र पाइलट सकुशल बाहिर निस्कन सफल भएको।

८. हेलिकोप्टरको पुच्छरको भाग छुट्टिएको र इन्जिन तथा बडीमा गम्भीर क्षति पुगेको।
सुरक्षा सुझावहरू

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर कम्पनीहरूलाई दिएको सुरक्षा सुझाव

१. हरेक हेलिकोप्टर कम्पनीले आफ्ना सब–बेसहरूमा अनिवार्य रूपमा ‘लाइसेन्स प्राप्त डिस्पाचर’ राख्नुपर्ने ताकि उडानको प्रभावकारी नियन्त्रण र सुरक्षा निगरानी हुन सकोस्।

२. उडान टोलीलाई हेलिप्याडको उचाइ, मौसम र सतहको अवस्थाबारे उडान भर्नुअघि अनिवार्य र विस्तृत ब्रिफिङ दिनुपर्ने।

३. दुर्गम र उच्च हिमाली क्षेत्रका हेलिप्याडहरूमा उडान गर्नुअघि लिखित रूपमा जोखिम मूल्याङ्कन गर्ने व्यवस्था मिलाउनुपर्ने।

४. हेलिकोप्टर कम्पनीहरूले स्थानीय कर्मचारीहरूसँग समन्वय गरी अवतरणका क्रममा ‘मार्शलर’ वा सहयोगीको व्यवस्था मिलाउनुपर्ने।

५. कम्पनीहरूले आन्तरिक सुरक्षा व्यवस्थापन प्रणालीको प्रभावकारी समीक्षा गरी उडान सञ्चालन निर्देशिका पालना गर्नुपर्ने।

६. नागरिक उड्डयन प्राधिकरणले सबै हेलिप्याड र हेलिपोर्टहरूको तत्काल जोखिम मूल्याङ्कन गरी असुरक्षित स्थानलाई सुधार गर्नुपर्ने।

७. लोबुचे जस्ता उच्च हिमाली र धेरै उडान हुने हेलिप्याडहरूमा स्पष्ट देखिने गरी मानक संकेत चिन्हहरू राख्नुपर्ने।

८. हिउँले ढाकिएको वा उच्च हिमाली क्षेत्रमा उडान गर्दा पाइलटहरूले पालना गर्नुपर्ने विशेष सुरक्षा मापदण्डहरू विकास र कार्यान्वयन गर्नुपर्ने।