
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ गतेको घटना सरकार विरुद्धको आक्रोश मात्र नभई वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रहार गर्ने नियोजित प्रयास भएको बयान दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे गठित जाँचबुझ आयोगसमक्ष आफ्नो बयान दिँदै उनले भदौ २३ गते युवाहरूको स्वतःस्फूर्त आक्रोश देखिए पनि भदौ २४ गते आन्दोलनको स्वरूप बदलिएको उल्लेख गरेको क्लिकमान्डुलाई प्राप्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘भदौ २४ को घटनामा आन्तरिक तथा बाह्य घुसपैठको सम्भावना देखिन्छ। गलत तत्वहरूले युवाहरूको भावनालाई प्रयोग गरेर अराजकता मच्चाएको मेरो निष्कर्ष छ,’ उनले बयानमा भनेका छन् । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धले युवाहरूमा तत्काल आक्रोश पैदा गरेको उनको विश्लेषण छ।

भदौ २४ गते काठमाडौँस्थित आफ्नो भाडाको निवास र चितवनस्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको भन्दै उनले घटनाको निन्दा गरेका छन् । साथै, आफ्नी छोरी गङ्गा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचारलाई ‘निराधार’ भन्दै उनले खण्डन गरेका छन् । ‘न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध स्रोतबाट आम्दानी गरेका छौँ,’ प्रचण्डले बयानमा भनेका छन् ।

प्रणालीमाथिको हमला
सिंहदरबार, शीतल निवास, संसद् भवन र सर्वोच्च अदालत जस्ता राज्यका मुख्य अंगहरूमा भएको आक्रमणले यो आन्दोलन केवल असन्तुष्टि मात्र नभई लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने खेल भएको प्रचण्डको दाबी छ । उनले आफ्नो पार्टीले आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा कुनै संलग्नता नरहेको प्रष्ट पारे । ‘यदि मेरो पार्टीका कोही व्यक्ति कानुन विपरीत कार्यमा संलग्न भएको प्रमाणित भएमा उनीहरूले कानुनी कारबाही भोग्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ बयानमा प्रचण्डले भनेका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा नियुक्ति र सरुवा-बढुवामा मेरिटोक्रेसी (योग्यता प्रणाली) लाई प्राथमिकता दिएको बताएका छन् । तर, राजनीतिक हस्तक्षेपका कारण प्रहरी, निजामती र न्याय सेवाको व्यवसायिकतामा नकारात्मक असर परेको उनको भनाइ छ ।








प्रतिक्रिया