‘१ वर्षमा गौतम बुद्ध विमानस्थल चाहियो’




काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै एक वर्ष भित्रमा जसरी भएपनि निर्माण सम्पन्न गर्ने निर्देशन दिएका छन् ।

शनिवार विमानस्थलको निरीक्षणमा निस्केका अधिकारीले सरोकारवाला निकायलाई सन् २०१८ भित्र विमानस्थलको काम सम्पन्न गर्न निर्देश दिएका हुन् ।

विमानस्थलको काम मुलुकको प्रतिष्ठासगँ जोडिएकाले जसरी भएपनि एक वर्ष भित्रमा निमार्ण सम्पन्न गर्ने निर्देशन दिएका छन् ।

विमाननस्थल निर्माणमा भएका ढिलाईले देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे (पीच) परिवर्तनको काममा समेत असर गरेको छ । जसका कारण विमानस्थल २४ घन्टा सञ्चालन गर्न सक्ने अवस्था छैन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलको क्षमता बढाउन पनि सहज हुने अधिकारीको भनाइ छ ।

‘विमानस्थल निर्माणमा सरकारी तवरबाट आवश्यक सबै सहयोग हन्छ । तर, कसरी गर्नुहुन्छ, मलाई अरु केही थाहा छैन, एक वर्ष भित्रमा यो आयोजना सम्पन्न हुनुपर्छ, एक वर्षभन्दा बढी कुर्ने समय छैन’, मन्त्री अधिकारीले भने ।

अबको नौ महिनामा विमानस्थको काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको अधिकारीले बताए । निर्माण कम्पनीलाई समयमै काम सक्ने दबाब दिन पनि उनले आयोजना प्रमुखलाई निर्देशन दिए ।

समयमा काम समपन्न गर्नका लागि औजार, जनशक्ति र कामको सिफ्ट थप गर्नुपर्ने परे थप गरेर भएपनि सन् २०१८ भित्र विमानस्थलको काम सम्पन्न हुनुपने मन्त्रीको निर्देशन छ ।

विमानस्थल निर्माणमा मुख्य लगानी कर्ता एसियाली विकास बैंक (एडीबी) पनि सन्तुष्ट छैन । लगानीकर्ताले हात झिक्ने अवस्था आउन नदिन समेत अधिकारीको सुझाव छ ।

एडिबीले अगामी जुन महिनासम्म विमानस्थलको ५० प्रतिशत काम सक्नुपर्ने विषयमा मन्त्री अधिकारीले ७० दिन समय रहेको भन्दै प्रत्येक दिनको कामको योजना, मुल्याङन र परिणामको दिन गनेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले एडिबीले जुनसम्म ५० प्रतिशत काम सम्पन्न गर्नुपर्ने बताए पनि ६० प्रतिशतको लक्ष्य लिएर काम गर्न निर्देशन दिए ।

विमानस्थल आयोजनका प्रमुख ओम शर्माले निर्माण कम्पनीले अहिले काममा तीब्रता दिएको बताए । अहिले विमानस्थलमा टर्मिनल भवन, धावनमार्ग, प्रशासनिक भवन, कन्ट्रोल टावर, पानीट्यांकी लगायतको निर्माण तीब्र गतिमा भइरहेको शर्माले अधिकारीलाई जानकारी गराएका थिए ।


क्लिकमान्डु