आजदेखि नेपाल टेलिकमले प्रिपेड मोवाइलमा ४० रुपैयाँ व्यालेन्स ऋण दिने



काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आज (शुक्रबार) देखि ४० रुपैयाँसम्म ऋण दिने भएको छ । टेलिकमले ग्राहकको फोनमा गर्ने खर्चका आधारमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्म सफ्ट (आवश्यकता अनुसारको) ऋण दिने व्यवस्था गरेको हो ।

नमस्ते क्रेडिट नामक योजना सुरु गर्दै टेलिकमले प्रिपेड फोनका ग्राहकले फोनमा कुरा गर्दा, डाटा चलाउँदा वा एसएमएस प्रयोग गर्दा ब्यालेन्स सकिएर हुने समस्या समाधान गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो ।

यो योजनाको शुभारम्भ सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले गरे ।

आजदेखि प्रिपेड फोनका ग्राहकको मोवाइलमा कुरा गर्दागर्दै, डाटा चलाउँदा वा एसएमएस प्रयोग गर्दा अधिकतम ४० रुपैयाँसम्मको ऋण दिने लिकमकी प्रमुख कामिनीराज भण्डारीले जानकारी दिइन् । यो ऋणमा टेलिकमले सेवा शुल्कको नाममा ब्याज भने काट्ने छैन् ।

यो सुविधा प्रयोग गर्नका लागि ग्राहकले न्युनतम ३ महिनादेखि टेलिकमको प्रिपेड सिम प्रयोग गरेको हुनु पर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

ग्राहकले १४७७ नम्बरमा ‘स्ट्याटस’ टाइपगरी एसएमएस पठाएर सेवाको बारेमा जानकारी लिन सक्नेछन् । स्वचालित भनिएको यो सेवा बाध्यकारी भने छैनन् । सेवा लिन नचाहने ग्राहकले १४७७ नम्बरमा ‘स्टप’ टाइपगरी एसएमएस पठाएर सेवा बन्द गर्न सक्नेछन् ।


पुष्प दुलाल