सेयर लगानीकर्ताले भने- आत्महत्या गरौं कि केही बोल्नुहुन्छ प्रधानमन्त्रीज्यू ?



काठमाडौं । लगातार सेयर बजार घटेपछि लगानीकर्ताहरु अत्तालिएका छन् । इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अब आत्माहत्या गर्न मात्रै बाँकी रहेको बताएका छन् ।

‘मार्जिन कल आउने बेला भयो, अब आत्महत्या गर्नमात्रै बाँकी छ,’ सोमबार इन्भेष्टर फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा रौनियारले भने ।

प्रधानमन्त्री केपी ओलीले विगतमा नेप्से १५÷१६ अंकले घट्दा अब घट्दैन भनेर बोलेको स्मरण गर्दै उनले भने, ‘अहिले बजारमा पहिरो जाँदा किन केही नबोल्नु भएको प्रधानमन्त्री ज्यू ?’

केपी ओली प्रधानमन्त्री बनेयता नेप्से सूचक करिब २५० अंकले घटेको छ । सोमबार एकैदिन ५२ अंकले घटेपछि भने लगानीकर्ताहरु थप भयवित भएका छन् ।

‘सेयर लगानीकर्ताहरुको रुवाबासी छ,’ सेयर ब्रोकर नरेन्द्र सिँजापतिले क्लिकमाण्डूसँग भने, ‘सरकारमा बस्नेहरु संवेदनशील नहुँदा यस्तो अवस्था सिर्जना भएको हो ।’

कम्युनिष्ट सरकारमा आए सेयर बजार घट्छ भन्ने विगतमा स्थापित भएको मान्यताले यो पटक पनि निरन्तरता पाउने संकेत देखिएको भन्दै सिँजापतिले तत्काल यस्तो अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरे ।


पुष्प दुलाल