तरलता रित्तिएपछि बैंकहरुले नयाँ ऋण दिन छाडे



काठमाडौं । पछिल्लो ५/६ हप्तादेखि बैंकहरुले ऋण दिन छाडेका छन् । लगानी योग्य पुँजी (तरलता) को चरम अभाव भएपछि बैंकहरुले नयाँ ऋण दिन बन्द गरेका हुन् ।

‘फागून महिना लागेपछि नयाँ ऋण दिन बन्द गरेका छौं,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले भने, ‘हामीले पूरानो प्रतिवद्धता जनाइसकेको ऋण चाहीँ रोकेका छैनौं ।’

त्यसैगरी बैंकर्स संघका अध्यक्षसमेत रहेका एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि बैंकहरुले नयाँ ऋण दिन छाडेको बताउँछन् ।

‘पछिल्लो एक÷डेढ महिनादेखि नयाँ कर्जाको फाइल हेर्न छाडिसकेँ,’ ढुंगानाले भने, ‘प्रतिवद्धता गरिसकेको र अत्यावश्यक बाहेक नयाँ कर्जा प्रवाह ठप्प छ ।’

तरलताको सहजता नभएसम्म बैंकहरु नयाँ कर्जा विस्तार गर्न नसक्ने अवस्थामा रहेको उनले सुनाए ।

‘बजारमा तरलता बढाउनका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयले गृहकार्य गरिरहेका छन्,’ ढुंगानाले भने, ‘आशा गरौं केही महिनापछि बजारमा तरलता आउँछ र हामी नयाँ ऋण लिन चाहनेलाई ऋण लिन सक्छौं ।’

सिभिल र एनबी जस्तै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल पनि नयाँ कर्जा रोकेको बताउँछन् ।

‘पहिले नै प्रतिवद्धता गरिसकेको र ससानो बाहेक नयाँ कर्जा विस्तार गर्न सकेका छैनौं,’ दाहालले भने, ‘पैसा भए पो लगानी गर्नु ?’

त्यस्तै, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले पनि नयाँ ऋण दिन छाडेको बताए । बजारमा तरलता नहुँदा बैंकहरुलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी’ रेसियो मेन्टेन गर्न कठिन भएकाले नयाँ ऋण दिन नसकिएको खालिङको भनाइ छ ।

‘निक्षेप बढे न कर्जा बढाउनु,’ उनले भने, ‘बैंकका लागि भनेको अहिलेको समय पर्ख र हेरको हो ।’
यसरी बैंकहरुले कर्जा नदिँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ । बैंकबाट ऋण लिएर नयाँ ब्यापार व्यवसाय गर्ने, भइरहेको व्यवसायमा थप लगानी गर्ने तथा अन्य कारोबार गर्ने लगायतका काम ठप्प भएका छन् ।

यसको असर चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको आर्थिक वृद्धि तथा आर्थिक क्रियाकलापमा देखिन्छ ।

फागुनयताका ५ हप्तामा बैंकहरुले २८ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । तर, यही अवधिमा जम्मा १२ अर्ब रुपैयाँ मात्रै कर्जा बढाएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अहिले वाणिज्य बैंकहरुको कूल निक्षेप २२ खर्ब ३५ अर्ब र कर्जा १९ खर्ब ६४ अर्ब रुपैयाँ छ ।

तरलताको अभाव भएपछि बैंकहरुले धमाधम ब्याज बढाइरहेका छन् । बैंकर्स संघले मुद्दतिमा ११ र बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नबढाउने भद्र सहमति गरेपनि कतिपय बैंकहरुले ‘चोरबाटो’ प्रयोग गरी मुद्दति निक्षेपमा साढे १२ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।

बैंकको ब्याज बढेसँगै लगानीकर्ताहरु ऋण लिनका लागि निरुत्साहित भएका छन् । ब्याज बढी हुँदा व्यवसायको लागत बढ्ने भएकाले लगानीकर्ताहरु निरुत्साहित बन्नु परेको हो ।


पुष्प दुलाल