दिपक मनाङ्गेलाई अब १९२ देशको प्रहरीले समात्ने, इन्टरपोलमा रेडकर्नर नोटिस



काठमाडौं । प्रदेश सभा सांसदसमेत रहेका गुण्डा नाइके दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई समात्न इन्टरपोलले सहमति दिएको छ ।

इन्टरपोलले मनाङ्गे बिरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले शुक्रबार मनांगेविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।

ज्यान मार्ने अभियागमा सर्वोच्च अदालतले मनाङ्गेलाई गत माघ २ गते ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चको फैसलापछि मनाङ्गे फरार छन् । स्रोतका अनुसार अहिले उनी भारतको सिक्किममा लुकेर बसेका छन् ।

अदालतले दोषी ठहर गरेका र देशभित्र नरहेकालाई पक्राउ गर्नका लागि प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटीस जारी गर्ने गर्छ । यस्तो नोटिस जारी भएसँगै मनाङ्गे विश्वका १ सय ९२ मुलुकका प्रहरीको खोजी सूचीमा परेका छन् ।

२०६१ सालमा गुन्डा नाइके मिलन चक्रेमाथी खुकुरी हानी हत्या प्रयास गरेको अभियोगमा मनाङ्गेलाई दोषी ठहर गरेको थियो ।

मनाङ्गे मंसिर १० गते सम्पन्न प्रदेश सभातर्फ मनाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको समर्थनमा निर्वाचित भएका थिए । केही समयअघि नै प्रहरीले इन्टरपोललाई नोटिस जारी गर्न आग्रह गरे पनि उनी सांसद भएको भन्दै केही समय इन्टरपोलले नोटिस जारी गर्न मानेको थिएन ।


पुष्प दुलाल