पूर्वअर्थमन्त्री डा. महतमाथि नुवाकोटमा किन हुन्छ बारम्बार आक्रमण ?



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि गृहजिल्ला नुवाकोटमा फेरि आक्रमण भएको छ ।

बिहीबार दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा पक्की पुलको शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका महतलाई पानीको बोतल प्रहार गरी आक्रमण भएको छ ।

निर्वाचनका बेला पनि डा. महत चढेको गाडीलाई लक्षित गर्दै बम प्रहार गरिएको थियो । त्यसअघि पनि उनीमाथि पटक पटक आक्रमणका प्रयासहरु भएका थिए ।

महतमाथि आक्रमण गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख कुँवरले बताए ।

साँझ ६ बजेतिर भएको घटनामा संलग्न रहेका खड्कालाई प्रहरीले पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।


पुष्प दुलाल