यूएस बङ्ला विमान दुर्घटनाः मृतकको तथ्यांकमा गृह मन्त्रालयको चरम लापरवाही




काठमाडौं । यूएस बंगला विमान दुर्घटनाको विषयमा गृह मन्त्रालयले चरम लापरवाही गरेको छ ।

गत सोमबार १४.१८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी निधन भएका यात्रुको गलत तथ्यांक प्रकाशित गरेर गृह मन्त्रालयले गम्भीर लापरवाही गरेको छ ।

गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले मंगलबार दिउँसो जारी गरेको विज्ञप्तिमा विमान दुर्घटनामा परी ५१ जना यात्रुको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेका थिए ।

उनले गलत तथ्यांक सार्वजनिक गरेको भन्दै दिनभर चारैतिर हल्ला खल्ला भयो । ढकालले तथ्यको जानकारी नै नलिइ गलत सूचना प्रवाह गरेका थिए । गृह मन्त्रालयमा बसेर अति जान्ने सुन्ने भएको भन्दै ढकालको चर्को आलोचना भएको छ ।

उद्धारकार्यमा संलग्न प्रहरी अधिकारी र नेपाली सेनाले समेत गृह मन्त्रालयले गलत तथ्यांक सार्वजनिक गरेको भन्दै असन्तुस्टि जनाएका छन् ।

दिनभर नै गलत तथ्यांकका विषयमा चौतर्फी दबाव परेपछि गृह मन्त्रालयले मंगलबार अबेर अर्को विज्ञप्ति जारी गरी पूर्व प्रकाशित विज्ञप्ति गलत भएको सच्चाएको छ ।

मंगलबा दिउँसो १२.०० बजे प्रकाशित भएको विज्ञप्तिमा सहायक प्रवक्ता झम्क ढकालले हस्ताक्षर गरेका छन् भने मंगलबार अबेर जारी गरिएको विज्ञप्तिमा सहसचिव कृष्णबहादुर राउतले हस्ताक्षर गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले समेत मंगलबार विमानस्थलमा पत्रकार सम्मेलनको क्रममा ४९ जनाको मात्रै मृत्यु भएको तथ्यांक सार्वजनिक गरेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले पनि जहाज दुर्घटनामा ४९ जनाको मात्रै मृत्यु भएको बताएका थिए ।

उनकाअनुसार दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको र उपचारार्थ घाइते २२ मध्ये दुई जना डिस्चार्ज भएको र बाँकी २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म प्राप्त विवरणअनुसार काठमाडौँ शिक्षण अस्पतालमा १०, नर्भिक अस्पतालमा पाँच, ग्राण्डी अस्पतालमा चार तथा मेडिसिटी, ओम र न्यूरो अस्पतालमा एक एक जना उपचारार्थ रहेकोमा दुई जना डिस्चार्ज भएको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयमा बसेर काम गरेका झम्क ढकाल गृहमन्त्रीमा रामबहादुर थापा नियुक्त भएपनि गृह मन्त्रालय आएका छन् ।

जहाज दुर्घटना लगत्तै गृहमन्त्रालयले सरकारको आधिकारिक जानकारी सार्वजनिक गर्नुपर्नेमा उनै ढकालले गृहमन्त्री थापालाई विज्ञप्ति जारी गर्नु नपर्ने भन्दै रोकेको बताइन्छ ।

‘प्रधानमन्त्री केपी ओलीको तर्फबाट शोक सन्देश आइसकेको छ, हजुर विज्ञप्ति जारी गर्नु पर्दैन’ भन्दै उनले गृहमन्त्रीलाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न रोकेको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।


पुष्प दुलाल